१२ कार्तिक २०८३, बुधबार

कोरोना महामारीयता नेपाल-चीन व्यापारिक नाकाबन्द

एसीपी संवाददाता

३१ बैशाख २०७९, शनिबार ०२:४५ मा प्रकाशित

बेइजिङ — चीनले स्थल नाका प्रयोग गरेर नेपाल भ्रमणमा नजान आफ्नो देशका नागरिकहरूलाई सचेत गराएको छ। कोरोना महामारीयता नेपाल-चीन व्यापारिक नाकाहरू आंशिक मात्रै खुलिरहेका बेला पर्यटकीय प्रयोजनका लागि स्थलमार्ग प्रयोग नगर्न चीनले सचेत गराएको हो।

काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार जारी गरेको यात्रा सुरक्षाबारेको सूचनामा यस्तो कुरा उल्लेख भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाल-चीन अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङका अलावा तातोपानी र फुलान नाका कोरोना महामारी यता मानवीय आउजाउका लागि प्रयोगमा नरहेको चीनको भनाइ छ। सूचनामा भनिएको छ, ‘कोभिड-१९ प्रकोपका बेला नेपाल र चिनियाँ सरकारको नियम अनुसार सबै बन्दरगाहका प्रवेश तथा निकासका च्यानलहरू बन्द गरिएको छ र आवतजावतमा कडाइका साथ प्रतिबन्ध लगाइएको छ।’

आफ्ना नागरिक लक्षित सूचनामा चीनले महामारीको समयमा महामारी प्रतिरोधी सुरक्षा व्यवस्था अपनाउन र अनावश्यक यात्रा नगर्न पनि चेतावनी दिएको छ। नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई प्राकृतिक प्रकोपबाट समेत सावधान रहन सुझाएको छ। जारी सुरक्षा सचेतनामा नेपाल बिस्तारै वर्षायाममा प्रवेश गरेकाले विगतमा धेरै बाढी, पहिरोका अलावा सडक भत्किने जस्ता भौगर्भिक प्रकोपजन्य खतराहरू भएकोतर्फ ध्यानाकर्षण गराइएको छ।

नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको हिस्सा भारतपछि दोश्रो नम्बरमा पर्छ। तर विगत दुई वर्षदेखिको कोरोना महामारीले पर्यटकीय आवागमन घटेको छ। आफ्ना नागरिकको यात्रा सुरक्षामा ध्यान दिन चीनका विभिन्न देशमा रहेका कूटनीतिक निकायहरूले यस्तो सुरक्षा सचेतना जारी गर्ने गर्दछन्।

नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिक र संस्थाहरू लक्षित यो पछिल्लो सतर्कतामा स्थानीय मौसमको अवस्थालाई ध्यान दिन, सुरक्षित र भरपर्दो यात्राका साधनहरू छनोट गर्न, तल्लो क्षेत्रमा रातभरी नबस्न र अनुमतिबिना नदीमा पौडी नखेल्न, वर्षायामका निर्माण संरचनामा ध्यान दिन सतर्क गराएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x