१२ कार्तिक २०८३, बुधबार

चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीको भबिश्य के हुने ?

एसीपी संवाददाता

१० चैत्र २०७७, मंगलवार २२:४३ मा प्रकाशित

पोखराकी उषा सुवेदी यतिबेला सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर अस्पतालमा बिरामीको उपचारमा खटिनुपर्ने हो । तर, उनी प्लेकार्ड बोकेर मेडिकल काउन्सिलको प्राङ्गणमा धर्ना बसेकी छन् । रहरले होइन, बाध्यताले उनलाई धर्नामा पुर्‍याएको छ । 

उषा चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थी हुन् । यतिबेला उनी कोर्स पूरा गरेर डाक्टरको सर्टिफिकेट बोकेर नेपाल फर्किनुपर्ने हो । छन त उनी अहिले नेपालमै छिन् तर सर्टिफिकेट छैन । कारण कोरोना भाइरस (कोभिड–१९) ।  

चीनमा कोरोना भाइरस आगोसरि फैलियो । त्रासले उनी नेपाल फर्किइन् । उनको इन्टर्नसिप उतै छुट्यो । नेपाल फर्किएको १४ महिना बित्यो । न चीनबाट युनिभर्सिटीले बोलाउँछ, न यता इन्टर्न नै गर्न पाएकी छन् । कोरोनाले भन्दा उनलाई हिजोआज इन्टर्नसिप गर्न नपाएकाे चिन्ताले सताएको छ । 

‘कतै डाक्टर नै बन्न नपाउने त होइन ?’, उनी सशंकित छिन् । ‘चीनमा  कोरोना महामारीको त्रास भयो । घरको मान्छे डराउनुभयो । अनि नेपाल फर्किएँ । चीनले बोलाउला भनेर बसेको । दीक्षान्त समारोहमा पनि बोलाएन । फागुनमा पनि बोलाएन । कहिले बोलाउने भन्ने पनि टुंगो छैन’, उनले समस्या सुनाइन् । मेडिकल काउन्सिलबाट उनले लाइसेन्स परीक्षा पनि उत्तीर्ण गरिसकेकी छिन् । मात्र उनको ४–५ महिनाको इन्टर्नसिप बाँकी छ । 

०००

काठमाडौंका समउज्ज्वल श्रेष्ठ पनि कोरोना महामारीले नेपाल फर्किन बाध्य भए । अब चीनले बोलाउला भन्ने उनलाई आस नै छैन । उनको पनि इन्टर्नसिप उतै छुट्यो । ‘चीनले बोलाउने होप छैन । युनिभर्सिटीले १–२ वर्ष लाग्छ भनेको छ । काम गर्न पनि पाएको छैन । इन्टर्नसिप नगर्दा सर्टिफिकेट पनि नहुने भयो । चार महिनाका लागि हामी कति वर्ष कुरेर बस्ने ?’, उनी प्रश्न गर्छन् ।  करियर नै धरापमा परेपछि उनी पनि मेडिकल काउन्सिलअगाडि धर्नामा बस्न विवश छन् । उनी दुखेसो पोख्छन्, ‘अब हामी के गरेर बस्ने ? सरकारले हाम्रो समस्या किन बुझ्दैन ?’

०००

काठमाडौंकी मिमांशा खतिवडाको पनि इन्टर्नसिपको पिरोलोले होसहवास उडेको छ । चीनले बोलाउला कि भन्ने प्रतीक्षामा १४ महिना बित्यो । तर, युनिभर्सिटीले बोलाएको छैन । ‘अस्पतालमा काम गरेर बस्नुपर्ने बेलामा धर्नामा बस्नुपरेको छ’, उनी भन्छिन्, ‘नेपालमा जनशक्तिको अभाव छ  । यहाँ राख्न मानेको छैन । इन्टर्न गर्न दिएको छैन । अब हामी कहाँ जाने ?’

०००

उषा, समउज्ज्वल र मिमांशा मात्र होइन, १ सय ५२ जना विद्यार्थीको समस्या हो यो । उनीहरूले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेर धर्नामा बसेका हुन् । उनीहरूले सुरुदेखि नै सम्बन्धित निकायमा समस्या राख्दै आएका हुन् । युनिभर्सिटीले नेपालमै इन्टर्नसिप गर्न भनेको तर नेपाल मेडिकल काउन्सिलले स्वीकृति नदिएको उनीहरूको गुनासो छ । 

‘पटक–पटक इन्टर्नका लागि चिट्ठी लेखेर सबै ठाउँमा बुझाएका हौँ । काउन्सिलसँग एक वर्षअघिदेखि नै कुरा गरिरहेका छौँ’, उषा भन्छिन्, ‘शिक्षा मन्त्रालयले काउन्सिललाई इन्टर्नसिपको व्यवस्था गरिदिन भनेको छ तर काउन्सिलले हुँदैन भनेर टार्ने काम गरेको छ ।’

चीनमा युनिभर्सिटीसँग समन्वय गरेर नै यहीँ इन्टर्न गर्न खोजेको उनीहरू बताउँछन् । ‘युनिभर्सिर्टीबाट सहमति लिएर नै यहाँ गर्न खोजेको हो’, उनी भन्छिन्, ‘शिक्षामन्त्रीले नै कन्फर्म गर्नुभएको छ ।’ बाध्यात्मक परिस्थितिमा नेपालमै इन्टर्नसिप गर्न पाइने कानुन रहेको पीडित विद्यार्थीहरू बताउँछन् । 

कानुनको अंश नै उनीहरूले प्लेकार्डमा उतारेका छन्, ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफूले पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपालभित्रका संस्थामा इन्टर्नसिप गर्न पाउनेछ । यय प्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्छ ।’

कानुनमै भएको कुरा काउन्सिलले नमानेको उनीहरूको गुनासो छ । चीनमै एमडी गरेकालाई भने नेपालमै इन्टर्न गर्न दिएको उनीहरूको भनाइ छ । ‘एमडीको अन्तिम वर्षका लागि नेपालमै गर्न मिल्ने । एमबीबीएसको पनि अन्तिम वर्षको हो । हामीलाई किन नमिल्ने ?’, उनीहरू काउन्सिललाई प्रश्न गर्छन् । 

शिक्षा मन्त्रालय भन्छ– सकारात्मक छौँ

पीडित विद्यार्थीहरू पुग्नुपर्ने सबै ठाउँमा पुगिसकेका छन् । सम्बन्धित निकायले एकले अर्कोलाई देखाएर पन्छिने गरेको पीडित विद्यार्थी बताउँछन् । शिक्षा मन्त्रालयले भने विद्यार्थीको समस्या समाधानको पहल गरिरहेको बताएको छ । 

‘दुई/चारपटक छलफल गरेका हौँ । निष्कर्ष निस्किएको छैन । मन्त्रालय यो विषयमा संवेदनशील छ । मन्त्रीज्यू पनि यो विषयमा छलफलमा हुनुहुन्छ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘यो शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिलसँग जोडिएको विषय हो । मन्त्रीज्यूले नै समन्वय गरिरहनुभएको छ ।’

हाम्रो विषय होइन : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले यो विषयमा आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ । ‘आयोगले विद्यार्थी छनोट मात्र गर्ने हो । चीनमा अबर परेका विद्यार्थीलाई नेपालमै इन्टर्न गराउने भन्ने निर्णय नेपाल सरकारले गर्ने हो । यसमा आयोगको भूमिका कहीँ छैन’, आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले भने, ‘नेपाल सरकार, चीन सरकार, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र सम्बन्धित युनिभर्सिटी मिलेर समस्या समाधान गर्न भनेका छौँ ।’ उनका अनुसार इन्टर्न गरेर विद्यार्थीलई लाइसेन्स दिने काम मेडिकल काउन्सिलको हो । 

क्षेत्राधिकार चिकित्सा शिक्षा आयोगसँग छ : काउन्सिल

नेपाल मेडिकल काउन्सिल पनि पन्छिएको छ । यसको क्षेत्राधिकार चिकित्सा शिक्षा आयोगको भएको काउन्सिलको भनाइ छ । ‘यो पढाइसँग सम्बन्धित विषय हो । त्यसको क्षेत्राधिकार चिकित्सा शिक्षा आयोगमा छ । आयोगले दिन मिल्ने भनेर लेखी पठाएमा काउन्सिलमा दर्ता गर्न समस्या हुँदैन’, काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘निर्णयको परिपक्वता नभएर अहिले स्थगित भएको हो । काउन्सिलको पूर्ण बैठक अर्को हप्ता बस्छ । त्यसपछि निष्कर्ष निकाल्छौँ ।’ शिलापत्र बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x