नेपालगञ्जको रानीतलावस्थित लक्ष्मी नारायण मन्दिरमा अर्जुन शक्ति केन्द्र लाठी समितिको आयोजनामा लाठी प्रशिक्षण सुरु
नेपालगञ्ज, असोज १७ — नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलावस्थित ऐतिहासिक तथा धार्मिक स्थल लक्ष्मी नारायण मन्दिर परिसरमा आजदेखि औपचारिक रूपमा लाठी प्रशिक्षण कार्यक्रमको सुरुवात गरिएको छ। अर्जुन शक्ति केन्द्र लाठी समितिको आयोजनामा एक भव्य कार्यक्रमका बीच क्लबको शुभारम्भ गरिएको हो।
स्थानीय युवा तथा बालबालिकाहरूमा शारीरिक तन्दुरुस्ती, अनुशासन, आपसी मेलमिलाप र परम्परागत आत्मरक्षाको कला विकास गर्ने पवित्र उद्देश्यका साथ यस प्रशिक्षण अभियानको थालनी गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रजिनीश बाजपेयीले परम्परागत कला र शारीरिक तन्दुरुस्ती आजको समयमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै युवाहरूलाई कुलतबाट टाढा राखेर रचनात्मक कार्यमा लगाउन यस्ता प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका सदस्य आदित्य गुप्ताले व्यावसायिक र सामाजिक विकाससँगै युवाहरूको शारीरिक तथा मानसिक सुदृढीकरणका लागि खेलकुद र परम्परागत कलाको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, कार्यक्रममा सामाजिक अभियन्ताद्वय विजय पाठक र बृजेश ठाकुर, आनन्द वर्मा, रविन्द्र सिंह बडिया लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
लक्ष्मी नारायण मन्दिरको प्राङ्गणमा सञ्चालन हुने यस प्रशिक्षण शिविरमा स्थानीय युवाहरूलाई शारीरिक कसरत, अनुशासित जीवनशैली र आत्मरक्षाका लागि आवश्यक पर्ने लाठीका विभिन्न वैज्ञानिक दाउपेच तथा कलाहरू सिकाइनेछ। कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूले यस अभियानलाई निरन्तरता दिनका लागि आ-तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयस्तरमा सकारात्मक ऊर्जा थप्ने यस किसिमका गतिविधिले युवाहरूलाई एकजुट बनाउनुका साथै स्वास्थ्य र सुरक्षाप्रतिको सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।






