नेपालगन्जमा रामलीला महोत्सव हुँदै, शोभायात्रादेखि रामको शुभ राज्याभिषेकसम्मका कार्यक्रम तय आश्विन २५ देखि कार्तिक ५ गतेसम्म विविध धार्मिक कार्यक्रम, महोत्सव सफल बनाउन श्रद्धालुसँग आर्थिक सहयोगको अपिल
दिनेश ठाकुर, नेपालगन्ज, २३ असोज — बाँकेको नेपालगन्जमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री रामलीला महोत्सव यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। श्री रामलीला सञ्चालक समिति, नेपालगन्जको आयोजनामा आश्विन २५ गतेदेखि कार्तिक ५ गतेसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको हो।
समितिले सार्वजनिक गरेको कार्य तालिकाअनुसार नेपालगन्जस्थित बाँके बगियामा रहेको श्री रामलीला मैदानमा महोत्सवका सम्पूर्ण कार्यक्रम सञ्चालन हुनेछन्। महोत्सवअन्तर्गत शोभायात्रा, श्री रामलीला प्रारम्भ, श्री राम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप तथा श्री रामको शुभ राज्याभिषेक लगायतका कार्यक्रम आयोजना गरिनेछन्।
महोत्सवलाई व्यवस्थित र सफलता पूर्वक सञ्चालन गर्न गिरिवर प्रसाद अग्रवालको संरक्षकत्व तथा सन्तोष कुमार कानोडियाको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ। समितिले धार्मिक परम्परा र सांस्कृतिक महत्त्वलाई निरन्तरता दिँदै महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
यस्ता छन् महोत्सवका मुख्य कार्यक्रम
समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आश्विन २५ गते आइतबार दिउँसो २ बजेदेखि शोभायात्रा निकालिनेछ। सोही दिन साँझ ७ बजेदेखि राति १२ बजेसम्म श्री रामलीला प्रारम्भ हुनेछ।
त्यसैगरी, आश्विन २६ गते सोमबार साँझ ७ बजेदेखि राति १२ बजेसम्म श्री राम जन्मोत्सव मनाइनेछ। आश्विन २९ गते बिहीबार साँझ ७ बजेदेखि राति १२ बजेसम्म धनुष यज्ञ कार्यक्रम सञ्चालन हुनेछ।
महोत्सवको महत्त्वपूर्ण आकर्षणका रूपमा कार्तिक ४ गते बुधबार दिउँसो १ बजेदेखि रावण वध कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै, कार्तिक ५ गते बिहीबार साँझ ८ बजे भरत मिलाप तथा श्री रामको शुभ राज्याभिषेक कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
मञ्च तथा भवन निर्माण कार्य जारी
श्री रामलीला सञ्चालक समितिका महामन्त्री अजय कुमार टण्डन तथा प्रचारमन्त्री आदित्य वैश्यका अनुसार हाल रामलीला मञ्च तथा भवन लगायतका संरचना निर्माण गर्ने काम भइरहेको छ। महोत्सवलाई व्यवस्थित, आकर्षक र भव्य बनाउन आयोजक समिति तयारीमा जुटेको छ।
समितिले यस ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आयोजनालाई सफल बनाउन श्रद्धालु भक्तजन, धर्मप्रेमी, समाजसेवी, उद्योगी, व्यवसायी तथा सम्पूर्ण सहयोगी मनहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ।
श्री रामलीला महा महोत्सव, नेपालगन्जका प्रचारमन्त्री आदित्य गुप्ताले महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो।
नेपालगन्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको श्री रामलीला महोत्सवले स्थानीय धार्मिक परम्पराको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा रामायणका आदर्श, नैतिकता र सदाचारका सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।


