श्रम संस्कृति पार्टी बाँकेको जिल्ला बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै जिम्मेवारी हेरफेर तीन नयाँ श्रमदाता पार्टी प्रवेश
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १७ — श्रम संस्कृति पार्टी बाँकेको जिल्ला बैठक पार्टी कार्यालय नेपालगञ्जमा सम्पन्न भएको छ। २०८३ असोज १७ गते शनिबार जिल्ला संयोजक श्रीमान थापा मगरको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण, जिम्मेवारी हेरफेर, जनसम्पर्क तथा पार्टी विस्तारलगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
जिल्ला सचिव दण्ड प्रसाद शर्माले सञ्चालन तथा सहजीकरण गरेको बैठकले पार्टी संगठनलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र गतिशील बनाउँदै आगामी दिनमा पार्टीका गतिविधि तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको हो।
हर्क साम्पाङ र शान्ति गुरुङ पार्खिनको बाँके भ्रमणको समीक्षा
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष हर्क साम्पाङको भाद्र १३ गते तथा केन्द्रीय सचिव शान्ति गुरुङ पार्खिनको असोज १४ गते भएको बाँके भ्रमणका क्रममा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिको समीक्षा गरिएको थियो।
भ्रमणका क्रममा भएका सकारात्मक उपलब्धि तथा देखिएका कमीकमजोरीबारे समीक्षा गर्दै कमजोरीलाई आगामी दिनका लागि सिकाइका रूपमा ग्रहण गर्ने निर्णय बैठकले गरेको छ। केन्द्रबाट हुने आगामी भ्रमण, भेटघाट, संगठन विस्तार, पार्टी प्रवेश तथा जनसम्पर्कका कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने गरी आवश्यक तयारी, समन्वय र जिम्मेवारी स्पष्ट गर्ने निर्णयसमेत गरिएको छ।
विभिन्न विभाग तथा पालिकाको जिम्मेवारी हेरफेर
संगठनलाई थप चुस्त र प्रभावकारी बनाउन बैठकले विभिन्न विभाग तथा पालिकाको जिम्मेवारीमा हेरफेर तथा जिम्मेवारी बाँडफाँट गरेको छ।
प्रदेश सदस्य दिनेश गुरुङले सम्हाल्दै आउनुभएको अनुशासन विभागको संयोजकको जिम्मेवारी जिल्ला संयोजक श्रीमान थापा मगरलाई दिने निर्णय गरिएको छ। त्यस्तै, प्रचार–प्रसार विभागको संयोजकको जिम्मेवारी मो. रहिस हलवाईलाई प्रदान गरिएको छ।
बैजनाथ गाउँपालिकाको संयोजकको जिम्मेवारी भने प्रदेश सदस्य दिनेश गुरुङले नै निरन्तर रूपमा सम्हाल्ने निर्णय भएको छ।
अनुशासन विभागलाई थप प्रभावकारी बनाउन सीता बन्जाडे र जकमाया विकलाई विभागीय सदस्यको जिम्मेवारी दिइएको छ। जानकी गाउँपालिकाको संयोजकको जिम्मेवारी रसीद खालाई दिने पूर्वनिर्णयलाई समेत बैठकले अनुमोदन गरेको छ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको श्रमदान अभियान संयोजकको जिम्मेवारी मो. इम्तियाज राईलाई दिने निर्णय गरिएको छ।
संगठन विभाग प्रमुखको जिम्मेवारी गगन सिंह थापामगरलाई
संगठन विभाग प्रमुख राजन राना मगर केन्द्रीय सदस्यका लागि सिफारिस हुनुभएको सन्दर्भमा उहाँले सम्हाल्दै आउनुभएको संगठन विभाग प्रमुखको जिम्मेवारी गगन सिंह थापामगरलाई दिने निर्णय गरिएको छ।
पार्टी संगठन विस्तारको महत्वपूर्ण चरणमा संगठन विभागलाई थप सक्रिय, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले उक्त जिम्मेवारी दिइएको बैठकले जनाएको छ।
सचिव र कोषाध्यक्षलाई थप प्रभावकारी जिम्मेवारी
बैठकले जिल्ला सचिव दण्ड प्रसाद शर्मा र कोषाध्यक्ष दिल बहादुर थापालाई आपसी समन्वय र सहकार्य गर्दै आ–आफ्नो जिम्मेवारी थप प्रभावकारी ढंगले अघि बढाउने गरी जिम्मेवारी प्रदान गरेको छ।
आर्थिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै सचिवालय बैठकलाई समेत नियमित, प्रभावकारी र निर्णयमुखी बनाउने विषयमा आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
तीन नयाँ श्रमदाताले लिए पार्टी सदस्यता
बैठककै क्रममा जिल्ला संयोजक श्रीमान थापा मगरको उपस्थितिमा तीन जना नयाँ श्रमदाताले श्रम संस्कृति पार्टीको सदस्यता ग्रहण गरेका छन्।
पार्टी प्रवेश गर्नेमा शालिकराम दमाई, आशा गौतम र मन्जु बानियाँ रहेका छन्।
नवप्रवेशी श्रमदातालाई पार्टीले स्वागत गर्दै पार्टीको उद्देश्य, विचार, श्रम संस्कृति तथा सामाजिक रूपान्तरणको अभियानमा सक्रिय सहभागिताका लागि शुभकामना व्यक्त गरेको छ।
संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकता
बैठकले नयाँ जिम्मेवारी प्राप्त सबै पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै जिम्मेवारीलाई केवल पदका रूपमा नभई संगठन निर्माण, जनसेवा, श्रमदान, सामाजिक रूपान्तरण र देश निर्माणप्रतिको दायित्वका रूपमा ग्रहण गर्न आग्रह गरेको छ।
श्रम संस्कृति पार्टी बाँकेले आगामी दिनमा संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम, श्रमदान अभियान, सामाजिक अभियान तथा स्थानीय तहमा पार्टीको उपस्थिति थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
संगठनमा जिम्मेवारीको स्पष्टता, आपसी समन्वय, पारदर्शिता, अनुशासन र सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकतामा राख्दै पार्टीलाई बाँकेमा जनमुखी तथा परिणाममुखी संगठनका रूपमा स्थापित गर्ने संकल्प बैठकले गरेको जनाएको छ।
बैठकका निर्णयबारे श्रम संस्कृति पार्टी बाँकेका उपाध्यक्ष तथा प्रचार–प्रसार विभाग संयोजक मो. रहिस हलवाईले जानकारी दिनुभयो।


