१ फाल्गुन २०८२, शुक्रबार

आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने मुख्य १० प्रतिबद्धता सार्वजनिक

एसीपी संवाददाता

१ फाल्गुन २०८२, शुक्रबार २२:१९ मा प्रकाशित

कृष्णनगर, १ फागुन ।

नेपाली कम्युनिस्ट पार्टी कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एहसान अहमद खाँले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने मुख्य १० प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनलेे शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, स्वास्थ्य, शिक्षा, कृषि र उद्योग प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उम्मेदवार खाँले नौमुरे-सुरही सिंचाइ आयोजना सम्पन्न गरी कृषकलाई वर्षैभरि सिंचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै नदी कटान नियन्त्रण तथा तटबन्ध निर्माणलाई तीव्रता दिई बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने योजना अघि सारे ।

स्वास्थ्य क्षेत्रतर्फ प्रदेश स्तरीय बाल तथा महिला प्रसूति अस्पताल स्थापना तथा सञ्चालन गरिने उनले बताए। शिक्षा क्षेत्रमा वन विज्ञान तथा कृषि क्याम्पस सञ्चालन गरी प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने उल्लेख गरे। साथै सामुदायिक तथा धार्मिक विद्यालयलाई निजी सरह सुविधा सम्पन्न र गुणस्तरीय बनाइने प्रतिबद्धता जनाए ।

औद्योगिक र व्यापारिक पूर्वाधार विस्तारतर्फ कृष्णनगर मा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाह स्थापना तथा सञ्चालन गर्ने, शिवराज नगरपालिका मा औद्योगिक करिडोर तथा विजयनगर गाउँपालिका मा कृषि, काष्ठ तथा पशुजन्य औद्योगिक करिडोर स्थापना गरिने योजना सार्वजनिक गरिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि कृष्णनगर-सुपादेउराली-स्वर्गद्वारी भ्रमणमा भन्सार तथा कर छुटका लागि कानुन निर्माण पहल गरिने उम्मेदवार खाँले बताए । साथै तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी कृष्णनगरमा अध्यागमन (इमिग्रेशन) कार्यालय स्थापना गरिने प्रतिबद्धता जनाए ।

पूर्वाधार विकासअन्तर्गत बहादुरगञ्जदेखि दाङसम्म हुलाकी सडक निर्माणलाई पूर्णता दिइने उनको अर्को प्रमुख योजना रहेको छ । उम्मेदवार खाँले यी प्रतिबद्धताले कपिलवस्तु-३ लाई आर्थिक, सामाजिक र पूर्वाधार विकासको नयाँ चरणमा पुर्‍याउने दाबी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x