१३ माघ २०८२, सोमबार

घोडा–खच्चर कल्याणमा नीति कार्यान्वयन सुदृढ गर्न नेपालगञ्जमा सरोकारवालाको गाेष्ठी सम्पन्न ।

एसीपी संवाददाता

५ माघ २०८२, आईतवार २०:५० मा प्रकाशित

अमन अन्सारी नेपालगन्ज 
नेपालगञ्ज, माघ ४ । घोडा–खच्चरलगायत पशु कल्याणका विषयमा नीति कार्यान्वयन प्रभावकारी बनाउने र सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा (AHTCS), नेपालगञ्ज शाखाले नेपालगञ्जमा एक गाेष्ठी सम्पन्न गरेकाे छ ।

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा (AHTCS), कार्यकारी निर्देशक शिवकुमार प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपालगञ्ज उप-महानगरपालिकाका उप-प्रमुख कमरुद्दिन राई तथा विशिष्ट अतिथि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा रहेका थिए ।

पानसमा बत्ती बाली कार्यक्रमकाे उद्घाटन गरेका उपप्रमुख राईले “घोडा–खच्चरमा देखिएका समस्या वास्तविक र गम्भीर रहेको उल्लेख गर्दै तिनको समाधानमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।” “घोडा–खच्चरको कल्याण पशुसँग मात्र सम्बन्धित विषय होइन, यो रोजगारी, अर्थतन्त्र र मानव कल्याणसँग पनि जोडिएको विषय हो,”-उहाँले भन्नुभयो।

राईले नेपालगञ्ज उपमहानगरपालिकाले पशु कल्याणका क्षेत्रमा कञ्जी हाउस निर्माण र पशु एम्बुलेन्स सञ्चालनजस्ता पहल गरेको जानकारी गराउनुभयो ।
तर जेन–जेड आन्दोलनका क्रममा उक्त पशु एम्बुलेन्स जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता संरचना संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

कार्यक्रममा पशुसम्बन्धी ऐन, नियम तथा कानुनबारे जानकारी दिइएको थियो। साथै पशुपालकहरूले गरीबी निवारणमा खेलेको भूमिका र पशुमा लाग्ने रोगहरूको नियन्त्रणका उपायबारे हरीप्रसाद जोशीले प्रस्तुति दिनुभएको थियो।

प्रस्तुतिमा घोडा जातिका जनावरहरू विशेषगरी इँट्टा उधाेगमा प्रयोग हुँदै आएको उल्लेख गर्दै इँट्टा उद्योगहरूले तीन लाखभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको जानकारी दिइयो। खुला सीमाका कारण भारतबाट अवैध रूपमा पशु भित्रिने र त्यससँगै पशुजन्य रोग फैलिने जोखिम रहेको भन्दै यस्ता पशु ल्याउँदा अनिवार्य रूपमा पशु क्वारेन्टाइनमार्फत स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइयो।

नेपालगञ्ज क्षेत्रमा झण्डै दुई सय परिवार घोडा–खच्चरसम्बन्धी पेशामा आबद्ध रहेको बताउँदै घोडा जातिका जनावरको कारोबार गर्दा हावापानी, सँस्कृति तथा धार्मिक पक्षसमेत विचार गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रममा पशु सेवा विभाग, पशु क्वारेन्टाइन कार्यालय, पशु सेवा विज्ञ तथा भेटेरिनरी क्षेत्रका प्रतिनिधि, पशु कल्याणमा सक्रिय संघ–संस्था, पशुपालक, नीति निर्माता तथा पत्रकारहरूका साथै भारतस्थित ब्रुक हस्पिटल फर एनिमल्स इन्डियाका सोमया मंगलको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले घोडा–खच्चर कल्याणका क्षेत्रमा नीति, अभ्यास र सरोकारवालाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x