शुद्धोधन गाउँपालिकामा ‘सुरक्षित एवं सहयोगी वातावरण’ परियोजना अन्तर्गत स्थानीय युवा परिषद गठन कपिलवस्तु,चैत
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा युवतीहरूका लागि सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्थानीय स्तरको युवा परिषद गठन गरिएको छ। कोइका (KOICA) र युएनएफपिए (UNFPA) को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल (Plan International) को प्राविधिक सहयोगमा सञ्चालित ‘सेफ गर्ल्स’ (SAFE GIRLS) परियोजना अन्तर्गत यो परिषद गठन गरिएको हो।
मानव अधिकार सचेतन केन्द्र (HURAC Nepal) द्वारा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका युवा प्रतिनिधि, शिक्षक, जनप्रतिनिधि र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमले शुद्धोधन गाउँपालिका का उपाध्यक्ष होम प्रकाश चौधरीको अध्यक्षतामा स्थानीय युवा परिषद गठन गरेको छ। परिषदमा क्षेत्रगत र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै १५ जना युवाहरूलाई जिम्मेवारी दिइएको छ।
कार्यक्रममा उपस्थित शिक्षकहरू इन्द्रदीप शर्मा गौतम, उमा कुमारी थारु, सुनिता अर्याल र धनमाया थापाले विद्यालय स्तरबाटै युवतीहरूको सुरक्षा र सशक्तीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो। यस्तै, गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष कुमार श्रीवास्तव र कृषि शाखा संयोजक राजेश कुमार चौधरीले पालिकाको नीति तथा कार्यक्रममा युवा र बालबालिकाका सवाललाई प्राथमिकता दिइने बताउनुभयो।
हुरेक नेपाल (HURAC Nepal) मार्फत सञ्चालित यो परियोजनाले विशेष गरी ग्रामीण क्षेत्रका युवतीहरूलाई हिंसामुक्त वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र उनीहरूको नेतृत्व विकासमा टेवा पुर्याउने लक्ष्य राखेको हुरेक नेपाल का फिल्ड अफिसर अनिल द्विबेदीले बताउनु भएको छ।
कार्यक्रममा जनकल्याण सेवा समितिका रामरुप कुर्मी, एसएसडिसी (SSDC) का प्रतिनिधि मिरा परियार, र महिला तथा बालबालिका शाखाकी सुधा द्विवेदी लगायतले युवा परिषदले स्थानीय सरकार र समुदायबीच पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नवगठित परिषदले आगामी दिनमा गाउँपालिका भित्र हुने सामाजिक विकृति, बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।



