ग्रामीण इलाकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको दर उच्च
बाँकेमा सहरी क्षेत्र भन्दा ग्रामीण इलाकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको दर उच्च देखिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार २०७४ मा जिल्लामा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ७९ प्रतिशत मानिसले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका थिए भने सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा ५४ प्रतिशले मात्र औषधि खाएका थिए
नेपालगञ्ज। बाँकेमा सहरी क्षेत्र भन्दा ग्रामीण इलाकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको दर उच्च देखिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार २०७४ मा जिल्लामा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ७९ प्रतिशत मानिसले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका थिए भने सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा ५४ प्रतिशले मात्र औषधि खाएका थिए ।त्यस्तै २०७५ मा पनि बैजनाथमा ६९.४ प्रतिशतले औषधि सेवन गर्दा सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामै ३९.७१ प्रतिशतले मात्र हात्तीपाइले रोग विरुद्धको औषधि खाएका थिए । नेपालगञ्जको तुलनामा जिल्लाका अन्य स्थानीय तहमा पनि औषधि सेवनको दर बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो । यस बर्ष पनि बाँकेसहित १३ जिल्लामा यही माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ ।जिल्लामा क्रियाशील संचारकर्मीहरुसंग आज आयोजित अन्तरक्रियामा यसपटक सहरी क्षेत्रमा पनि औषधि सेवन दर बढाउने गरी तयारी थालिएको शाहले बताउनुभयो । जिल्लाका ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधि खुलाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम् सेविका खटाइने जनस्वास्थ्य अधिकृत अंगत शाहीले जानकारी दिनुभयो ।फोकल पर्सन दुर्गा गौतमले आठ वटै स्थानीय तहसंग समन्वय गरेर पालिका स्तरमा स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा औषधि खुवाउने कार्यक्रम रहेको बताउनुभयो । औषधि खान नमान्ने व्यक्तिलाई बुझाउन चुनौति रहेका कारण सेवन दर बढ्न नसकेको गौतमको भनाई छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रदिप रिमालले हात्तीपाइले रोग विरुद्धको औषधि कैयौं बर्षदेखि प्रयोगमा आएपनि गलत बुझाईका कारण सेवन गर्न हिच्किचाउने गरेको बताउनुभयो । उहाँले यही अवस्थामा बाँकेमा अझैं २०७८ सम्म औषधि खुवाउनुपर्ने अवस्था रहेको बताउनुभयो । इक्वेल एक्सेस नेपालका प्रमुख उपेन्द्र अर्यालले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रममा मिडिया र मिडियाकर्मीको भूमिका अहम् हुुने भन्दै प्रभावकारी मिडिया क्याम्पेनका लागि आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेतले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रममा मिडियाको साथ रहँदै आएको बताउनुभयो ।