२० आश्विन २०८३, मंगलवार

विश्वकप फुटबल : जापान र स्पेन नकआउट चरणमा

एसीपी संवाददाता

१६ मंसिर २०७९, शुक्रबार ०७:४३ मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह चरण अन्तर्गत गएराति भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन।

समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो।
स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो।

जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २–१ को अग्रता लियो। खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो।

सोही समूहको अर्को खेलमा जर्मनी ४–२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो। जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए। खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए।

जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३–२ को अग्रता दिलाए। साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे। अन्तिम खेलमा विजयी भए पनि जर्मनी भने विश्वकपबाट घर फर्किएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x