१७ आश्विन २०८३, शनिबार

नागरिकका समस्या बुझ्न वडा–वडामा राष्ट्रिय जनमत पार्टी, ‘समस्या बुझ्न वर्षौंदेखि निरन्तर जनतामाझ छौँ’–बुलडोजर बाबा

एसीपी संवाददाता

१८ आश्विन २०८३, आईतवार ००:१७ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, असोज १४ — राष्ट्रिय जनमत पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा टोलस्तरसम्म पुगेर नागरिकका वास्तविक समस्या, गुनासा र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने अभियानलाई तीव्रता दिएको छ।

वडा–वडामा आयोजना गरिएको छलफल तथा भेटघाट कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएका छन्। छलफलका क्रममा स्थानीय नागरिकले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय उठाएका थिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमत पार्टीका नेता बुलडोजर बाबा (इरफान अहमद शेष) ले जनप्रतिनिधिले नागरिकका समस्या समाधान गर्न नसक्दा जनताले वर्षौंदेखि समस्या भोग्नुपरेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “जनताको समस्याको समाधान नहुनु जनप्रतिनिधिकै मुख्य कारणले हो। हामी समस्या बुझ्न आएका हौँ, वर्षौंदेखि निरन्तर बुझिरहेका पनि छौँ। नेतृत्वमा आए समस्या समाधान हुन्छन्।”

शेषले आफूहरू जनताकै बीचबाट आएको उल्लेख गर्दै नागरिकका सुख–दुःखमा साथ दिनु आफ्नो प्रमुख जिम्मेवारी भएको बताउनुभयो। उहाँले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा रहेका वास्तविक समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले वडा तथा टोलस्तरीय छलफललाई निरन्तरता दिइएको बताउनुभयो।

“हामी जनताकै बीचबाट आएका हौँ। जनताका हरेक सुख–दुःखमा साथ दिनु हाम्रो पहिलो कर्तव्य हो,” उहाँले भन्नुभयो, “नेपालगञ्जभित्र रहेका वास्तविक समस्या पहिचान गरी समाधानका लागि पहल गर्न वडा–स्तरीय छलफल सुरु गरेका हौँ।”

पार्टीका नेताहरूले जनहित, नागरिकको हकअधिकार, स्थानीय विकास तथा सुशासनका विषयमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नागरिकबाट प्राप्त गुनासा तथा सुझावलाई आगामी कार्यदिशा तय गर्नसमेत उपयोग गरिने उनीहरूको भनाइ छ।

कार्यक्रममा सहभागी कार्यकर्ताले ‘बुलडोजर छाप जिन्दावाद’ र ‘राष्ट्रिय जनमत पार्टी जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

अभियानमा राष्ट्रिय अध्यक्ष रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्यहरू अब्दुल गफुर खान, रोशन चौधरी, अब्दुल हासिम फारुकी, राजेश बर्मा, राम निवास तेली, युवा नेता मो. हिफजुल खान, वडा प्रतिनिधि बकरिदी बेहना, महिला नेतृ रिया पौडेल, युवा नेता रामनाथ मण्डल, रिजवान शाह, रिजवान शेष, सद्दाम खान, नाजिम इद्रिसी, मो. अलि कबाडिया, रमजान जोलाह, कमरुद्दीन तेली, राजु कबाडिया (राई), इरफान बेहनालगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x