चाडपर्व खर्च अनिवार्य दिन श्रम विभागको ताकेता: नदिए उजुरी दिन आग्रह
काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन कडा निर्देशन जारी गरेको छ।
श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्था स्पष्ट पार्दै विभागले प्रचलित धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानुनी अधिकार रहेको स्पष्ट पारेको छ।
यदि कुनै पनि रोजगारदाता वा प्रतिष्ठानले आफ्ना कामदार वा श्रमिकलाई उक्त सुविधा उपलब्ध नगराएमा सम्बन्धित श्रमिकले त्यसको जानकारी दिन सक्नेछन्। सुविधा नपाएका श्रमिकले सम्बन्धित रोजगारदाता रहेको कार्यक्षेत्र, श्रम तथा रोजगार कार्यालय वा सीधै यस विभागमा उजुरी वा निवेदन दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागले यससम्बन्धी थप जानकारी लिन वा उजुरी दर्ता गर्नका लागि आफ्नो आधिकारिक वेबसाइट www.dolos.gov.np र इमेल ठेगाना info@dolos.gov.np को प्रयोग गर्न आग्रह गरेको छ। साथै, सहज रूपमा उजुरी दिन सकिने क्युआर कोड (QR Code) समेत सार्वजनिक गरिएको छ।



