१२ कार्तिक २०८३, बुधबार

जसपामा तीन अध्यक्ष राख्न भट्टराईको प्रस्ताव , एकल अध्यक्ष बन्ने यादवको दाउ

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार ०३:३४ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले तीन अध्यक्षको व्यवस्था गर्न माग गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । भट्टराईले अशोक राइलाई पनि अध्यक्ष बनाउनु पर्ने बताएपछि यादव र भट्टराइबीच विवाद उत्पन्न भएको हो । तत्कालिन केपी ओलीको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि यादव, भट्टराई र महन्थ ठाकुर एकै पार्टीमा अटाएका थिए । तर गत भदौमा महन्थ ठाकुरहरु फूटेर गएपछि भट्टराई अशोक राईलाई अध्यक्ष बनाउन माग गरेपछि विवाद बढेको स्रोतले जनाएको छ ।

परिषद् अध्यक्ष भट्टराईले नेतृत्व र पार्टीमा समावेशिता र सामूहिकता प्रकट नभएको भन्दै प्रश्न उठाएपछि विवाद बढेको हो । नेतृत्वमा सामूहिकता प्रकट नहुनु, समावेशी नहुनु, कार्यकारिणी समितिको बैठकका निर्णय सम्बोधन नहुनु, मन्त्री छनोटमा असमावेशी हुनु र पार्टी तथा सरकारबीच समन्वय नभएको विषय भट्टराइले उठाइरहेका बेला राइलाई पनि अध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् । ‘भट्टराईजीहरुले तेस्रो अध्यक्षको प्रस्ताव गरिरहनु भएको छु जुन संभव छैन’, यादव निकट एक नेताले भने ।

भट्टराई पक्षका नेताहरूको दाबीमा अध्यक्ष यादवले पार्टीलाई सामूहिकताका आधारमा चलाउन सकेका छैनन् । केन्द्रीय कार्यकारिणी समितिमा उठेका मुद्दा र भएका निर्णयलाई कार्यान्वयनमा लैजानेभन्दा पनि टार्ने प्रवृत्ति यादवमा रहेको छ । कार्यकारिणी समितिको बैठकमा मन्त्री बनाउँदा समावेशी नभएको र भूगोल नमिलाएको लगायतका मुद्दा उठेका थिए । त्यस्तै, सरकार–पार्टीबीच समन्वय नभएको पनि प्रश्न उठेको थियो, तर त्यसलाई सम्बोधन गर्न अध्यक्ष यादवले कुनै पहल नगरेको भट्टराइले बताउदै आएका छन् ।

जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ । ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई लगेर संघीय परिषदको अध्यक्षमा राईलाई ल्याउनुपर्ने माग छ । जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ । यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन् ।

भट्टराईसँग निकट कार्यकारिणी समितिका सदस्य तथा पूर्वमहासचिव गंगानारायण श्रेष्ठ राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्न र पार्टीलाई सामूहिक समावेशी नेतृत्व प्रणालीमा लैजान ३ वटा कलस्टरलाई समेटेर तीनजना अध्यक्ष बनाउनुपर्ने दावी गरेका छन् । ‘विधान अधिवेशन नहुँदासम्म अहिलेको विधानले व्यवस्था गरेअनुसार ३ वटा कलस्टर समेटेर तीन जना अध्यक्ष–२ कार्यकारिणी र १ संघीय परिषद् चयन गरौं भन्ने हाम्रो माग हो,’ श्रेष्ठले भने ।

उनका अनुसार यस्तो माग राख्दा विवाद उत्पन्न भएको हो । यादवनिकट नेताहरू बाबुराम भट्टराईले दोस्रो राष्ट्रिय अध्यक्ष नपाएका कारण असन्तुष्टि जनाएको बताउदै आएका छन् । रिक्त अध्यक्ष पदमा भट्टराईले दाबी गरिरहेका छन् । यादवनिकट एक नेताका अनुसार, अहिले अध्यक्ष यादव विधान संशोधन गरेर एकल अध्यक्ष प्रणालीमा जानुपर्ने पक्षमा छन् ।

उनी अर्काे अध्यक्षका रूपमा भट्टराईलाई ल्याउन चाहँदैनन् । भट्टराइले राष्ट्रिय अध्यक्षको माग गरिरहेका बेला यादव समूहले भने विधाननै संशोधन गरेर एकल अध्यक्षात्मक प्रणालीमा लैजाने प्रयास गरेका छन् । जस्लेगर्दा भट्टराई पक्षलाई समस्या भएको छ । ‘अर्को अध्यक्ष दिने अवस्था नदेखिए भट्टराई समूहले पार्टी विभाजन गर्ने संभावना पनि रहेको छ’, भट्टराई निकट एक नेताले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x