१२ कार्तिक २०८३, बुधबार

खोपमा प्रधानमन्त्री देउवाको मिसन सफल, ८० प्रतिशतले लगाए पहिलो डोज

एसीपी संवाददाता

१३ माघ २०७८, बिहीबार १२:०५ मा प्रकाशित

काठमाडौं । कोभिड महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनको प्रभाव रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा खोप मिसन सफल भएको छ ।

गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा ‘यो सरकारको प्राथमिकता खोप, खोप, खोप’ हो भनेर आफ्नो प्राथमिकता सुनाएका थिए । कोरोना भाइरस महामारीको पहिलो र दोस्रो लहरले सम्पूर्ण देश आक्रान्त भएका बेला सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री देउवाले खोपलाई नै सरकारको प्रमुख कार्यभार बनाए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको चरम लापरवाहीका कारण कोरोनाबाट दश हजार बढि नागरिकले ज्यान गुमाइसकेका थिए भने देश अस्तव्यस्त अवस्थामा थियो ।

विषम परिस्थितिमा सरकारको नेतृत्व गरेका देउवाले नागरिकलाई कोरोनाको कहरबाट मुक्त गर्दै अस्तव्यस्त देशलाई सहि बाटोमा ल्याउन खोप नै अन्तिम विकल्प भएको भन्दै आफ्नो सरकारले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा गरे ।

सरकारले चैतभित्र खोप लगाउन योग्य उमेर समूहका सबै नागरिकलाई खोप लगाउने गरी अभियान नै सञ्चालन गरेको छ । सरकारी लक्ष्य अनुसार माघ १२ गतेसम्म १८ वर्ष उमेरमाथिका देशभर ८२.४ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६६.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ नागरिक खोप लगाउन योग्य रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको अद्यावधिक तथ्यांक अनुसार २ दुई करोड ९९ लाख २१ हजार २३ मात्रा खोप लगाइएको छ । जसमा १ करोड ६४ लाख १२ हजार ५५५ मात्रा पहिलो खोप लगाइएको छ भने १ करोड ३२ लाख ४३ हजार ५७७ मात्रा पूर्ण खोप लगाइएको छ । त्यस्तै ६ लाख ६४ हजार ८९१ अतिरिक्त मात्रा खोप लगाइएको सरकारी तथ्यांक छ ।

१२ वर्षमाथिका ८० प्रतिशतले पहिलो डोज लगाएका छन् भने ५६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ५३ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् ।

सरकारले विद्यालयमा बालबालिकालाई लक्षित गरेर कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन सुरु गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।

त्यस्तै कोरोना महामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुलाई बुस्टर डोज लगाउन सुरु गरिएको छ । माघ ३ गतेबाट अग्रपंक्तिमा खटिनेहरुका लागि खोप दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालले विभिन्न स्रोतबाट कोभिड–१९ खोपको ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप प्राप्त गरिसकेको छ । जसमा कोभिसिल्ड, फाइजर, मोर्डना, भेरोसेल रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x