गगन थापाले दिए केपिलाई खुल्ला चेतावनी
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भनेर गरेको टिप्पणीको जवाफ दिएका छन् ।
पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका नेता समेत रहेका थापाले भनेका छन्, ‘यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको। कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ?’
तर नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको उनले बताए। उनले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी समेत गरेका छन् ।
‘प्रदेश र संघमा नेकपाकै सरकार थियो। ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन’, थापाले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो। आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए। एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौं भन्दै छन्।’


