नेपालगञ्ज–९ मा श्रम संस्कृति पार्टीको जनसम्पर्क अभियान तीव्र, स्थानीयसँग भेटघाट र पार्टी प्रवेश कार्यक्रम जारी
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १७ — श्रम संस्कृति पार्टी बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ सहित बाँकेका विभिन्न गाउँ–टोलमा जनसम्पर्क तथा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। अभियानअन्तर्गत स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिइएको पार्टीले जनाएको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले गाउँ–टोलमा पुगेर स्थानीयका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिँदै जनतासँग संवाद गरिरहेका छन्। साथै, नयाँ सोच, श्रम र परिवर्तनको अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले संगठन निर्माण तथा पार्टी प्रवेश कार्यक्रम अघि बढाइएको बताइएको छ।
श्रम संस्कृति पार्टी बाँकेका संगठन प्रमुख राजन रानाले जनतासँग प्रत्यक्ष संवाद गर्दै संगठनलाई थप मजबुत बनाउने अभियान निरन्तर जारी रहेको बताउनुभयो। उहाँले स्थानीयका समस्या र सुझावलाई प्राथमिकतामा राखेर पार्टीको अभियानलाई गाउँ–टोलसम्म विस्तार गरिने उल्लेख गर्नुभयो।
अभियानमा श्रम संस्कृति पार्टी बाँकेका सल्लाहकार चाँद खाँ, जिल्ला उपाध्यक्ष रहिस हलवाई लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
पार्टीले जनतासँगको प्रत्यक्ष सम्बन्धलाई बलियो बनाउँदै संगठन विस्तार, जनसम्पर्क तथा पार्टी प्रवेश अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।


