यहूदी समुदायको हानुका पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार
लोकतन्त्रनेपाल = अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा शुक्रबार भएको भीषण गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। यहूदी समुदायको हानुका पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा अन्धाधुन्ध गोली चल्दा ठूलो मानवीय क्षति भएको हो।
आइतबार आयोजित कार्यक्रममा सुरुमा घटनास्थलमै १० जनाको मृत्यु भएको थियो। त्यसपछि गम्भीर घाइते भएका थप ५ सर्वसाधारण र गोली चलाउनेमध्ये एक जनाको मृत्यु भएसँगै मृतक संख्या १६ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
घटनाका क्रममा करिब ४० जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जना प्रहरीको अवस्था गम्भीर रहेको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बन्डी बिच नजिकैको पार्कमा कार्यक्रम चलिरहेका बेला नजिकैको पार्किङ क्षेत्रको पुलबाट दुई जनाले भीडतर्फ अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो समयमा समुद्रकिनार क्षेत्रमा करिब एक हजार मानिसको भीड रहेको बताइएको छ।
प्रहरी अनुसन्धानबाट गोली चलाउने व्यक्ति एकै घरका बाबु–छोरा भएको खुलेको छ। ५० वर्षीय बुवा घटनास्थलमै मारिएका थिए भने उनका २४ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्। उनीहरूको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
अधिकारीहरूले यो आक्रमणलाई लक्षित यहूदीविरोधी (एन्टिसेमिटिक) हमलाका रूपमा व्याख्या गरेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार करिब १० मिनेटसम्म लगातार गोली चलेको थियो, जसका कारण समुद्रकिनार र वरपरका सडकमा आतंक र भागाभाग मच्चिएको थियो।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज सोमबार बिहान घटनास्थल पुगेका थिए। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस घटनालाई राष्ट्रका लागि अँध्यारो क्षणको संज्ञा दिए। साथै यहूदीविरोधी घृणालाई जरैदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे।
घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रों लगायत विभिन्न विश्व नेताहरूले गहिरो समवेदना व्यक्त गरेका छन्। ट्रम्पले ह्वाइट हाउसमा आयोजित कार्यक्रममा बन्डी बिचको आक्रमणलाई स्पष्ट रूपमा यहूदीविरोधी आक्रमण भएको बताएका छन्।
अस्ट्रेलियामा सामूहिक गोलीकाण्ड अत्यन्त दुर्लभ मानिन्छ। यसअघि सन् १९९६ मा तास्मानियाको पोर्ट आर्थरमा भएको आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो। त्यसयता बन्डी बिचको घटना सबैभन्दा घातक मानिएको छ। सोमबार बन्डी बिचमा झण्डा आधा झुकाइएको थियो।
यहूदी समुदायका नेताहरूले घटनालाई अत्यन्त पीडादायी क्षण भन्दै समुदायबीच एकता र सहकार्यको आवश्यकता औंल्याएका छन्। अस्ट्रेलियामा करिब १ लाख ५० हजार यहूदी समुदायका मानिस बसोबास गर्ने अनुमान छ, जसमध्ये करिब एक तिहाइ सिड्नीको पूर्वी उपनगर बन्डी आसपासमा बसोबास गर्छन्।
यस घटनापछि बर्लिन, लन्डन, न्युयोर्क लगायत विश्वका प्रमुख शहरहरूमा हानुका पर्वका कार्यक्रमहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।



