१३ कार्तिक २०८३, बिहीबार

कम्युनिस्ट को हुन र काँग्रेसलाई प्रधानमन्त्री दिन्छु भन्ने – देउवा

एसीपी संवाददाता

६ फाल्गुन २०७७, बिहीबार १६:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनाइदिन्छौं भन्दैमा आँफू प्रधानमन्त्री पद माग्न नजाने बताएका छन्। देउवाले जारी काँग्रेसको केन्द्रिय समिति बैठकमा आँफू जनताबाट जितेर प्रधानमन्त्री हुने भन्दै प्रचण्ड र ओलीले प्रधानमन्त्री बनाइदिन्छन् भनेर कुरेर नबसेको बताएका हुन्।

बुधबार बसेको केन्द्रिय समिति बैठकमा संसद पुनस्थापनाको मुद्दा प्राथमिक रुपमा नउठाइ १४ महाधिवेशनको विषयमा मात्र केन्द्रित हुने सहमति भएको थियो। तर वरिष्ठ नेता रामचन्द्र पोडेलले बीचैमा कुरा ‘डाइभर्ट’ गरे र लगे सडकबाटै संसद पुनस्थापना गर्नु पर्ने कुरा तिर।

पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा शशक्त ढंगले उभिनुपर्ने र आन्दोलनको नेतृत्व कांग्रेसले गर्नुपर्ने जनताको चाहना रहेको प्रसंग सुनाएका थिए।

प्रधानमन्त्री ओलीले सभापति देउवालाई प्रधानमन्त्री बनाइदिन्छन् भन्ने भ्रम राख्न हुन्न भन्ने कुरा पौडेलले राखे। त्यतिबेला सम्म चुपचाप बसेका देउवा त्यसपछि बोली रोक्न सकेनन्। र, झोक्किँदै जवाफ फर्काए, ‘कम्युनिस्ट को हुन र काँग्रेसलाई प्रधानमन्त्री दिन्छु भन्ने? ओली को हुन मलाई प्रधानमन्त्री बनाउन? म आफ्नै बलबुताले, जनताको मतले प्रधानमन्त्री हुने हो। प्रचण्डले र ओलीले बनाइदिएर हुने हो र?’

त्यसपछि देउवाले आँफूलाई पार्टी भित्रै खुइल्याउन खोजिएको आरोप लगाए। उनले नेतै पिच्छे आफ्नो आफ्नो किसिमको भाषण दिनाले नेता-कार्यकर्ता भ्रमित भएको बताए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई आफूले केन्द्रीय समितिमै छलफल गराएर असंवैधानिक र अलोकतान्त्रिक भनेको  कुरा देउवाले सम्झाए।

देउवाले आँफूले अदालतको फैसला नआउने बेला सम्म कुरौँ मात्र भनेको तर पार्टी भित्रैबाट ओलीको पक्षमा लागेको लागेको भन्ने जस्ता आक्षेप लगाउँदा आँफूलाई दुख लाग्ने गरेको बताए।

‘अदालतमा विचाराधीन विषयमा ढोकैमा गएर आन्दोलन नगरौं मात्र भनेको हुँ। जुलुसले अदालतलाई प्रभावित पार्न हुन्न। यो गर वा त्यो गर भन्न हुन्न। कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा छ भन्दा कसरी पुनर्स्थापना विरोधी भएँ?,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

देउवाले कानुनी राज्यमा अदालतले जे भन्छ त्यही मान्नु पर्ने बताए। उनले अहिले नै संसद पुनस्थापनाको मुद्दा बोक्न नसकिने बताएका छन्। ति केन्द्रिय सदस्यका अनुसार बैठकमा देउवाले भनेका थिए, ‘संसद पुनःस्थापनाको एजेण्डा हामीले बोक्दैनौं। अदालतले जे भन्छ त्यही गर्नुपर्छ। चुनाव भन्यो भने चुनावमा जाने, पुनःस्थापना भयो भने संसदमा जाने।’

देउवाले आन्दोलन नै गर्नु पर्यो भने छ महिना पछि गर्न सकिने बताए। उनले ओलीले चुनाव गराउँछु भनेकोले त्यति बेला सम्म हेर्नुपर्ने उनको राय थियो। ‘अदालतले चुनाव गर् भन्छ भने हामी किन डराउने ? यदि ६ महिनामा चुनाव गरेन भने चैं आन्दोलन गरौंला’ देउवाले भनेका थिए।

कांग्रेस केन्द्रीय समिति बैठक आज अपरान्ह ३ बजे फेरि बस्दैछ। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने र देउवा नेतृत्वको कार्यसमितिको म्याद संविधानमा रहेको व्यवस्थाअनुसार छ महिना थप गर्ने प्रस्ताव केन्द्रीय समितिमा बुधबार पेश गरेको छ। साभार – नेपालदिप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x