१२ कार्तिक २०८३, बुधबार

सहमतिबिनै दुर्घटनामा संलग्न ईभी गाडी छाडिएको भन्दै भौतिक मल्लद्वारा ट्राफिक प्रहरीसँग स्पष्टीकरण माग पीडितको सहमतिबिना गाडी छाडिएको आरोप, निष्पक्ष छानबिन र उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग

एसीपी संवाददाता

१२ कार्तिक २०८३, बुधबार १५:२७ मा प्रकाशित

नेपालगञ्ज ,कात्तिक ११ — सवारी दुर्घटनामा घाइते भएका भौतिक मल्लले आफ्नो सहमतिबिनै दुर्घटनामा संलग्न ईभी गाडी छाडिएको भन्दै ट्राफिक प्रहरी कार्यालय सुर्खेतसँग स्पष्टीकरण माग गरेका छन्। उनले गाडी छाड्ने निर्णयको आधार, अपनाइएको प्रक्रिया र त्यसका लागि जिम्मेवार अधिकारीबारे लिखित जवाफ दिन माग गरेका हुन्।

मल्लका अनुसार गत ६ गते दशरथपुर–खोल्टेपानी सडकखण्डको मोडमा कर्णाली प्रदेश ०२–००१ ज ०६५९ नम्बरको ईभी गाडीले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका उनी केही समय बेहोससमेत भएका थिए। त्यसपछि उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको र थप परीक्षण तथा उपचारका लागि नेपालगञ्जस्थित न्युरो अस्पतालमा समेत जाँच गराइएको उनले बताएका छन्।

दुर्घटनाको भोलिपल्ट घटनाबारे छलफल गर्न आफू ट्राफिक प्रहरी कार्यालय सुर्खेत पुगेको मल्लले बताए। उनका अनुसार छलफलका क्रममा चालक र गाडीधनी पक्षसँगै आफूलाई असहज हुने गरी अनावश्यक व्यक्तिहरूलाई समेत उपस्थित गराइएको थियो।

उक्त परिस्थितिले आफूलाई मानसिक दबाब महसुस भएपछि छलफल पूरा नगरी बाहिरिनुपरेको उनको भनाइ छ।मल्लले पीडितको स्पष्ट सहमति र घटनाको निष्पक्ष टुंगो नलाग्दै दुर्घटनामा संलग्न गाडी छाडिएको आरोप लगाएका छन्। चालक र गाडीधनीबीच मात्रै गरिएको छलफलले पीडितको उपचार, क्षतिपूर्ति तथा कानुनी अधिकार सुनिश्चित गर्न नसक्ने उनको जिकिर छ।

उनले ट्राफिक प्रहरी कार्यालयसँग गाडी कुन आधारमा, कसको आदेशमा र कुन प्रक्रियाअनुसार छाडिएको हो भन्नेबारे स्पष्ट लिखित जवाफ माग गरेका छन्। साथै, गाडी छाडिएपछि भविष्यमा घटनासँग सम्बन्धित प्रमाण नष्ट हुने, अनुसन्धान प्रभावित हुने वा आफूलाई थप समस्या पर्ने अवस्था आए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाएका छन् मल्लले आफूलाई आश्वासनभन्दा न्याय, पारदर्शिता र कानुनी प्रक्रियाको पालना आवश्यक रहेको बताएका छन्।

उनले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा उपचार खर्च र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।यता, यस विषयमा ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। कार्यालयको धारणा प्राप्त भएपछि गाडी छाडिएको प्रक्रिया र घटनासम्बन्धी थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x