नेपालगन्जमा ‘ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योग’ सञ्चालनमा, अध्यक्ष वलीद्वारा उद्घाटन स्थानीय उत्पादन र स्वरोजगार प्रवर्द्धनमा जोड, बेतका आकर्षक फर्निचर होलसेल तथा खुद्रा मूल्यमा उपलब्ध हुने
दिनेश ठाकुर, नेपालगन्ज, २५ असोज — बाँकेको नेपालगन्जमा बेतबाट निर्मित आकर्षक तथा गुणस्तरीय फर्निचर उत्पादन र बिक्री–वितरण गर्ने उद्देश्यले ‘ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योग’ सञ्चालनमा आएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित बसपार्क पछाडि शिव मन्दिर नजिकै स्थापना गरिएको उद्योगको एक विशेष समारोहबीच उद्घाटन गरिएको हो।
उद्योगको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वलीले स्थानीय स्तरमा स्थापना हुने उत्पादनमूलक उद्योगहरूले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उहाँले स्थानीय उद्यमशीलताको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि यस्ता उद्योगहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। साथै, उहाँले नवसञ्चालित उद्योगको सफलताको कामना गर्दै उद्योग वाणिज्य संघका तर्फबाट आवश्यक व्यावसायिक सहयोग र सहजीकरणमा साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्योगकी सञ्चालिका लक्ष्मी भट्टराईका अनुसार उद्योगमा बेतबाट निर्मित विभिन्न प्रकारका फर्निचर तथा घरायसी सजावटका सामग्रीहरू उपलब्ध हुनेछन्। ग्राहकको आवश्यकता, रुचि र मागलाई ध्यानमा राख्दै आधुनिक तथा आकर्षक डिजाइनका फर्निचर उचित मूल्यमा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।
सञ्चालिका भट्टराईले उद्योगबाट उत्पादित तथा उपलब्ध हुने बेतका फर्निचरहरू होलसेल र खुद्रा दुवै मूल्यमा बिक्री–वितरण गरिने बताउनुभयो। गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र ग्राहकको मागअनुसारका उत्पादन उपलब्ध गराउनु उद्योगको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ छ।
पछिल्लो समय घर, कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा बेतबाट निर्मित फर्निचरप्रति आकर्षण बढ्दै गएको छ। यस्तो अवस्थामा नेपालगन्जमै बेतका फर्निचर उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग सञ्चालनमा आउनुले स्थानीय उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ।
उद्योगले स्थानीय बजारमा बेतका फर्निचरको उपलब्धता बढाउनुका साथै उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।


