नेपालगन्जलाई स्वच्छ र हरित बनाउने अभियानका अभियन्ता डा. विनोद कर्ण ‘जय नेपाल पार्टी’मा प्रवेश
दिनेश ठाकुर नेपालगन्ज, २७ असोज — नेपालगन्जलाई स्वच्छ, हरित र सुन्दर सहर बनाउने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ अभियानका संस्थापक डा. विनोद कर्ण ‘जय नेपाल पार्टी’मा प्रवेश गर्नुभएको छ।
सहरको वातावरणीय सुधार, सरसफाइ, हरियाली प्रवर्द्धन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका डा. कर्ण सोमबार आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा जय नेपाल पार्टीमा आबद्ध हुनुभएको हो।
नेपालगन्जको स्वच्छता, वातावरण संरक्षण र सौन्दर्यीकरणका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका डा. कर्णको पार्टी प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सामाजिक तथा वातावरणीय अभियानमार्फत आफ्नो पहिचान स्थापित गर्नुभएका उहाँको राजनीतिक प्रवेशले नगरको विकास, वातावरण संरक्षण र नागरिकका सवाललाई थप प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डा. कर्णलाई पार्टीमा स्वागत गर्दै जय नेपाल पार्टीका नेता तथा अगुवाहरूले उहाँको आगामी राजनीतिक यात्राको सफलताको कामना गरेका छन्। उहाँको अनुभव, सामाजिक सक्रियता र विकासप्रतिको प्रतिबद्धताले पार्टीको संगठन विस्तार तथा जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास पार्टीका नेताहरूले व्यक्त गरेका छन्।
नेपालगन्जको वातावरणीय सुधार र स्वच्छ सहर निर्माणका लागि स्थापित अभियानको नेतृत्व गर्दै आउनुभएका डा. कर्णको राजनीतिक यात्राले आगामी दिनमा नगर विकास, सरसफाइ र हरियाली प्रवर्द्धनका मुद्दाले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ।


