नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सचिवमा इशरत अलि शेख निर्विरोध निर्वाचित पार्टीलाई थप गतिशील, बलियो र सङ्गठित बनाउने शेखको प्रतिबद्धता
दिनेश ठाकुर, नेपालगन्ज , कात्तिक १५ — नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को सचिव पदमा इशरत अलि शेख निर्विरोध निर्वाचित हुनुभएको छ।
सहमति र सहकार्यको वातावरणमा सम्पन्न निर्वाचन प्रक्रियामा सचिव पदका लागि शेखको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। लामो समयदेखि नेपाली कांग्रेसको विभिन्न तहमा सक्रिय रहँदै आउनुभएका शेखलाई पार्टीको संगठन सुदृढीकरणमा थप भूमिका निर्वाह गर्ने जिम्मेवारी प्राप्त भएको छ।
निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव शेखले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले नेपाली कांग्रेसलाई क्षेत्र नम्बर २ मा थप गतिशील, बलियो र सङ्गठित बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहने बताउनुभयो। पार्टीभित्र आपसी एकता, सहकार्य र सहमतिलाई प्राथमिकता दिँदै संगठन विस्तार तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउन आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
“पार्टीका अग्रज नेताहरूको मार्गदर्शन र साथीहरूको सहयोगमा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई थप बलियो, गतिशील र सङ्गठित बनाउन पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछु,” शेखले भन्नुभयो।
शेख सचिव पदमा निर्विरोध निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले उहाँलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


