नेपालगञ्जमा श्रम संस्कृति पार्टीप्रति आकर्षण बढ्दै, मोहम्मद जकी सिद्दिकीसहित दर्जनौँ श्रमदाता पार्टीमा प्रवेश
नेपालगञ्ज, कात्तिक १५ — बाँकेको नेपालगञ्जमा श्रम संस्कृति पार्टीप्रति आकर्षण बढ्दै गएको छ। शनिबार राति आयोजित एक कार्यक्रमबीच नेपालगञ्ज उपमहानगरपालिका–१६ का युवा तथा स्थानीय श्रमदाताहरू मोहम्मद जकी सिद्दिकीसहित दर्जनौँ व्यक्ति श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा मोहम्मद जकी सिद्दिकी, मोहम्मद साहिद जसगढ, मोहम्मद हमीद कुरैशी र कैयूम कुरैशीलगायत नेपालगञ्ज–१६ का स्थानीय व्यक्तिहरू रहेका छन्। उनीहरू शनिबार राति ८ः३५ बजे आयोजित कार्यक्रममा पार्टीमा आबद्ध भएका हुन्।
नवप्रवेशीहरूलाई श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूले खादा र माला लगाएर स्वागत गर्दै बधाई तथा सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए। रातिको समयमा समेत आयोजित कार्यक्रममा स्थानीयको सहभागिता देखिनुले पार्टीप्रति बढ्दो चासो र संगठन विस्तारको प्रयासलाई थप बल पुगेको पार्टीका नेताहरूले बताएका छन्।
कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव शान्ति पार्खिन गुरुङ, प्रस्तावित केन्द्रीय सदस्यद्वय राजन राना मगर र कालीमिया (कस्मिरा खातुन), नगर श्रम संयोजक इम्तियाज राई तथा पार्टीका जिल्ला उपाध्यक्ष मोहम्मद रहिश हलवाईलगायतको उपस्थिति रहेको थियो।
पार्टीका नेताहरूका अनुसार श्रम, श्रमिकको सम्मान, सामाजिक न्याय र जनताको पक्षमा आवाज उठाउने उद्देश्यसहित अघि बढिरहेको श्रम संस्कृति पार्टीमा स्थानीय युवा तथा श्रमदाताहरूको आबद्धताले संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नवप्रवेशीहरूको सहभागिताले नेपालगञ्जमा पार्टीको सांगठनिक गतिविधि विस्तार गर्न र स्थानीयस्तरमा जनताका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउन ऊर्जा प्रदान गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्।


