सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टोलीले फिटनेस प्रशिक्षण सुरु गरेको छ। टोलीले एक हप्ता नेपालमै फिटनेस प्रशिक्षण गर्ने लामाले बताए। त्यसपछि भने टोली भारत प्रस्थान गर्नेछ। ‘फिजियोलगायत तीन जनाले सोमबारदेखि नै फिटनेस प्रशिक्षण सुरु गरिसक्नुभएको छ। बन्द प्रशिक्षणमा बोलाइएका २२ मध्ये १६ खेलाडी प्रशिक्षणमा सहभागी छन्,’ उनले भने। उनका अनुसार तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अलराउन्डर गुल्सनकुमार झा भारतमै प्रशिक्षण गरिरहेका छन्। उनीहरू व्यक्तिगत खर्चमा प्रशिक्षण गर्न भारत पुगेका हुन्। त्यसैले उनीहरू उतैबाट टोलीमा समावेश हुने लामाले जानकारी दिए।
कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा ग्लोबल ट्वान्टी– २० क्रिकेट लिग खेलिरहेका छन्। रोहित टोरन्टो नेसनल्समा आबद्ध छन्। दीपेन्द्र र सन्दीप भने भ्यानकुभर नाइट्समा छन्। लिग–२ शृंखला क्यानडामै हुने भएकाले यी तीन खेलाडीले उतैबाट टोलीमा समावेश हुने सम्भावना रहेको लामाले बताए। ‘तीन जना उतै छन्। शृंखला पनि क्यानडामै हुने भएको कारण सम्भवतः उनीहरू उतैबाट टोलीमा जोइन गर्नेछन्,’ उनले भने। ग्लोबल ट्वान्टी– २० क्रिकेट लिग अगस्ट २४ सम्म चल्नेछ। भ्यानकुभर नाइट्स लिग चरणबाटै बाहिरिसकेको छ। टोरन्टो भने प्लेअफमा पुगिसकेको छ। यता, मुख्य प्रशिक्षक मोन्टी देसाईं भने आइसिसी ट्वान्टी–२० विश्वकप सकिएसँगै बिदामा बसेका छन्। समूहचरणको दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको थियो। उक्त खेल सकिएसँगै उनी अमेरिका बस्दै आएका छन्। उनी सीधै भारतमा हुने क्याम्पमा सहभागी हुने लामाले बताए।
‘अहिले हामीले फिटनेस प्रशिक्षण गरिरहेकाले मुख्य प्रशिक्षक चाहिँदैन। भारतमा भने चाहिने भएका कारण उहाँ उतै आउनुहुन्छ,’ उनले भने। क्यानले बोलाएको खेलाडीको सूचीमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागी भएका बलरद्वय प्रतीश जिसी र अविनाश बोहरा भने अटाउन सकेनन्। देव खनाल, आरिफ शेख, भीम सार्की, सूर्य तामाङ, रिजन ढकाल, बसिर अहमद, आकाश चन्द र अर्जुन साउद बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्। सूर्यबाहेक अन्य खेलाडी नेपाल ‘ए’ टोलीमा थिए। त्यहाँ गरेको उच्च प्रदर्शनका आधारमा उनीहरूलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइएको हो। उनीहरूले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड उल्भ्ससँग ट्वान्टी–२० र एकदवसीय शृंखला खेलेका थिए। यस्तै, क्यानडा–११ सँग पनि तीन खेलको एकदिवसीय शृंखला खेलेका थिए । नेपालले लिग–२ को दोस्रो शृंखला खेल्न लागेको हो। नागरिकन्युज


