नेपाल चिकित्सक संघ भेरी शाखाद्वारा नीलसागर वृद्धाश्रमलाई २५ सेट लो-बेड र डस्ना सहयोग ज्येष्ठ नागरिकको स्वास्थ्य र सहजतालाई प्राथमिकता दिँदै चिकित्सक संघको मानवीय पहल
दिनेश ठाकुर, नेपालगन्ज, २३ असोज — ‘सेवा नै धर्म हो’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै नेपाल चिकित्सक संघ भेरी शाखाले बाँकेको नेपालगन्जस्थित निर्माणाधीन नीलसागर वृद्धाश्रमलाई २५ सेट लो-बेड (कम उचाइका खाट) र डस्ना सहयोग गरेको छ।
ज्येष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा र सहजतालाई ध्यानमा राख्दै संघले शुक्रबार वृद्धाश्रमको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री आश्रम व्यवस्थापनलाई हस्तान्तरण गरेको हो। बढ्दो चिसो मौसममा आश्रित ज्येष्ठ नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको संघले जनाएको छ।
कार्यक्रममा नेपाल चिकित्सक संघ भेरी शाखाका पदाधिकारी, चिकित्सक तथा नीलसागर वृद्धाश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहयोगस्वरूप उपलब्ध गराइएका लो-बेड र डस्नाले वृद्धाश्रममा आश्रय लिइरहेका असहाय तथा ज्येष्ठ नागरिकको दैनिक जीवनयापनमा सहजता ल्याउनुका साथै उनीहरूको स्वास्थ्य र आराममा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल चिकित्सक संघ भेरी शाखाका डा. राहुल कुर्मी वर्माले ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको सेवा र संरक्षण सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवामा संलग्न चिकित्सकहरूले बिरामीको उपचारमा मात्र सीमित नभई समाजका असहाय र आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।
नीलसागर वृद्धाश्रम व्यवस्थापन पक्षले ज्येष्ठ नागरिकको आवश्यकता बुझेर सहयोग उपलब्ध गराएकोमा नेपाल चिकित्सक संघ भेरी शाखाका सम्पूर्ण पदाधिकारी तथा चिकित्सकहरूप्रति आभार व्यक्त गरेको छ।
चिकित्सक संघको यस मानवीय पहलले स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै ज्येष्ठ नागरिकको संरक्षण तथा सेवामा अन्य संघसंस्था र सामाजिक व्यक्तित्वलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।
समाजका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकको सेवामा गरिने यस्ता सहयोगले मानवीय संवेदना, सामाजिक एकता र सेवाभावलाई थप मजबुत बनाउने सन्देश दिएको छ।



