बाँकेमा विश्व हिन्दु महासंघको अन्तरक्रिया सम्पन्न, हिन्दु राष्ट्र स्थापनामा जोड धर्म संरक्षण, वैदिक सनातन संस्कृतिको रक्षा र संगठन विस्तारलाई तीव्रता दिने विषयमा छलफल
दिनेश ठाकुर नेपालगन्ज, ११ कात्तिक — विश्व हिन्दु महासंघ नेपाल, बाँके जिल्ला शाखाको आयोजनामा हिन्दु राष्ट्र स्थापना, वैदिक सनातन संस्कृतिको संरक्षण तथा संगठन विस्तारका विषयमा परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नर्वदेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रम विश्व हिन्दु महासंघ नेपाल बाँकेका जिल्ला अध्यक्ष भीमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा महासंघका सहअध्यक्ष शंकर खराल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी केन्द्रीय सदस्यद्वय भोलानाथ योगी र ध्रुवप्रसाद दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष आशा विष्ट, प्रदेश सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा स्थानीय धार्मिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा योगी नरहरिनाथले विश्व हिन्दु महासंघ गठन गर्नुको उद्देश्य, यसको आवश्यकता, उपयोगिता तथा ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरिएको थियो। सहभागीहरूले वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, धार्मिक परम्पराको निरन्तरता तथा हिन्दु राष्ट्र नेपालको पुनर्स्थापनालगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले धर्म र संस्कृतिको संरक्षणका लागि संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले हिन्दु राष्ट्र स्थापनाको अभियानलाई प्रभावकारी बनाउन आपसी एकता, सहकार्य र जनस्तरमा जागरण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
यसैगरी, महासंघको संगठन विस्तारलाई तीव्रता दिने, जिल्ला तथा स्थानीय तहमा संगठनलाई थप सक्रिय बनाउने र आगामी दिनमा हुने नेतृत्व चयनका विषयमा समेत व्यापक छलफल भएको बाँके जिल्ला शाखाले जनाएको छ।
जिल्ला अध्यक्ष भीमप्रसाद सापकोटाको भनाइमा, धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै संगठनलाई बलियो बनाउनु वर्तमान आवश्यकता हो। महासंघका गतिविधिलाई जिल्लाका विभिन्न क्षेत्रमा विस्तार गर्दै धार्मिक तथा सांस्कृतिक जागरण अभिवृद्धि गर्ने विषयमा कार्यक्रम केन्द्रित रहेको जनाइएको छ।
कार्यक्रमले महासंघको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा धर्म र संस्कृतिको संरक्षणसम्बन्धी अभियानलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


