२९ माघ २०८२, बुधबार

बिश्व भर घुम्दै जेन–जी आन्दोलन

एसीपी संवाददाता

५ आश्विन २०८२, आईतवार १४:५६ मा प्रकाशित

सबैले बुझ्नैपर्ने कुरा के हो भने जेन–जी भनेको एउटा निश्चित उमेर समूह होइन। आज २५ वर्ष भएको एक जेन–जी १० वर्षपछि ३५ वर्ष पुग्छ। तर, उनीहरू केवल टेक्नोलोजीमै सीमित हँुदैनन्। उनीहरू सामाजिक न्याय, पारदर्शिता र अवसरको समानताका लागि सचेत र आवाज उठाउने एक शक्तिशाली पुस्ता पनि हुन्। उनीहरूले विशेषाधिकार प्राप्त ‘नेपोबेबी’ संस्कृतिको कडा आलोचना गर्छन् भने अर्कोतर्फ आ–आफ्नै देशमा अन्याय र भ्रष्टाचारविरुद्ध ठूला राजनीतिक आन्दोलनहरूको नेतृत्व गर्दैछन्।

नेपालमा भर्खरै भएको जेन–जीको आन्दोलनले विश्वको ध्यान खिच्यो। झट्ट हेर्दा यो आन्दोलन सुरुवातमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध केन्द्रित देखिए पनि यो आन्दोलनको प्रमुख कारण वर्षौंदेखि सत्तामा भएको भ्रष्टाचार, नातावाद (नेपोटिज्म) र आर्थिक असमानता थियो। नेपाल सरकारले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू, जस्तै फेसबुक, इन्स्टाग्राम, हाट्सएप, युट्युब र एक्सलाई प्रतिबन्ध लगाएपछि यो आन्दोलन चर्किएको थियो। तर, यो त एक आगोमा घिउ हाल्ने विन्दु बन्यो। यस प्रतिबन्धलाई जेन–जीले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि हमला ठाने र हजारौं युवाहरू सडकमा उत्रिए।

आन्दोलनको सुरुवाती चरणमा प्रदर्शनकारीहरू शान्तिपूर्ण थिए, तर जब प्रहरीको कडा दमन भयो, आन्दोलनले हिंसात्मक रूप लियो। प्रहरीले गोली चलाउँदा पहिलो दिन नै १९ जना प्रदर्शनकारीहरूको मृत्यु भयो र सयौं घाइते भए। देशभरि मृत्यु हुनेको संख्या ७५ पुगिसकेको छ।
यो‌ ऐतिहासिक आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ समर्थनको सरकार मात्रै ढालेन, प्रधानमन्त्री, मन्त्री, नेता, कार्यकर्तालाई कुर्सी छोडेर भाग्न बाध्य बनायो। तर, जेन–जीका नाममा अराजकता फैलाएर सार्वजनिक सम्पत्तिको चरम विनाश पनि भयो। प्रदर्शनकारीहरूको मागबमोजिम सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ र संसद् विघटन भएर फागुन २१ मा प्रतिनिधिसभाको चुनाव पनि घोषणा भइसकेको छ। यससँगै देशले नयाँ राजनीतिक कोर्स पाउने सम्भावना पनि देखिन्छ।

नेपालको जेन–जीले ‘नेपोबेबी’ र ‘नेपोकिड्स’ जस्ता शब्दहरू प्रयोग गर्दै राजनीतिक अभिजात वर्गको विलासितापूर्ण जीवनशैलीको विरोध गरे, जुन आमनेपालीको कठिनाइपूर्ण जीवनको जगमा बनेको थियो। यस आन्दोलनले नेपाली राजनीतिमा ठूलो परिवर्तन गर्‍यो र जेन–जीको शक्ति र प्रभावको
प्रदर्शन गर्‍यो। नेपालमा नयाँ पुस्ताले कसैले कल्पना गर्न नसकेको परिवर्तन गरिरहँदा पुराना पुस्तालाई ‘जेन–जी’ र ‘नेपोबेबी’ शब्दावली बुझ्नै कठिन छ।

नेपोबेबी भनेको के हो? 
‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ शब्द ‘नेपोटिज्म’ (नातावाद÷कृपावाद) र ‘बेबी’ शब्दको मि श्रण हो। साधारण भाषामा भन्दा, नेपोबेबी भनेको ती व्यक्ति हुन् जो आफ्नो प्रतिभा, परि श्रम र योग्यताको आधारमा होइन, बरु आफ्नो प्रसिद्ध वा प्रभावशाली परिवारको नाम, प्रभाव र सम्पर्कका कारण लोकप्रियता र सफलताको अवसर प्राप्त गर्छन्। यसको उत्पत्ति हलिउड इन्डस्ट्रीबाट भएको मानिन्छ, तर आज यो अवधारणा मनोरञ्जन क्षेत्रमा मात्र होइन, राजनीति, व्यवसाय, फेसन, साहित्यलगायत विविध क्षेत्रमा फैलिएको छ।

जेन–जी भनेको इन्टरनेटको युगमा हुर्किएको पुस्ता हो। यो पुस्ताले राजनीतिमा खासै वास्ता गर्दैन। यो पुस्ताले इन्टरनेटलाई नै आफ्नो ‘सिभिक स्पेस’ मान्छ। तर, उनीहरू समावेशिता, विविधता, सामाजिक न्याय र पारदर्शिताको पक्षधर हुन्। साथै, उनीहरूले ‘हसल कल्चर’लाई महत्व दिन्छन्। हसल कल्चर भन्नाले निरन्तर उत्पादन, लामो समयसम्म काम गर्ने बानी, र पेसागत लक्ष्य हासिल गर्न निरन्तर प्रयास गर्ने मानसिकता र कार्य संस्कृतिलाई जनाउँछ। यो प्रायः व्यक्तिगत सुख–सुविधा र स्वास्थ्यको मूल्यमा हुन्छ। जेन–जीले आफ्नो प्रतिभा र परि श्रमले आफैंले आफ्नो मार्ग बनाउनेमा विश्वास राख्छन्। यही कारणले गर्दा जेन–जीले नेपोबेबी प्रवृत्तिप्रति एकदमै सचेत र आलोचनात्मक दृष्टिकोण राख्छ। उनीहरूले देखेका छन् कि कसरी एउटा सामान्य परिवारको प्रतिभाशाली युवाले संघर्षको धेरै लामो  यात्रा तय गर्नुपर्छ भने नेपोबेबीहरूले आफ्नो पारिवारिक पृष्ठभूमिका कारण सीधै एउटा ‘गोल्डन टिकट’ प्राप्त गर्छन्। यो अवसरको असमानताप्रतिको उनीहरूको असहमति हो।null

नेपोबेबीको विषयमा विश्वव्यापी रूपमा आलोचकहरूको मुख्य तर्क केन्द्रित छ अवसरको असमानतामा, जहाँ नेपोबेबीहरूले गर्दा सीमित अवसरहरू मात्र तिनै प्रभावशाली परिवारहरूमा केन्द्रित हुन्छन्, जसले गर्दा बाहिरी प्रतिभाहरू प्रायः उपेक्षित बन्दछन्। दोस्रो प्रमुख आपत्ति भनेको योग्यताको कमी हो, जहाँ धेरै नेपोबेबीहरूमा आफूले पाएको ठूलो अवसर अनुरूपको प्रतिभा वा योग्यता हुँदैन, तथापि उनीहरूले सर्वोत्तम मौकाहरू पाउँछन्। तेस्रोमा, यसले एउटा नारीवादी संस्कृतिलाई बढावा दिन्छ भन्ने गुनासो छ, जहाँ सफलताका लागि प्रतिभा होइन, जन्मले नै मुख्य भूमिका खेल्छ।

नेपालमा ‘नेपोबेबी’ शब्द नयाँ भए पनि, यसको अवधारणा एकदमै पुरानो र गहिरो छ। नेपाली राजनीतिमा त ‘नेपोकिड्स’ को बिरुवा नै रोपिएको छ। शीर्ष नेताहरूका छोराछोरीहरू सीधै संसद्मा पुग्छन्, मन्त्री बन्छन् र पार्टीको नेतृत्व सम्हाल्छन्। यसले लोकतन्त्रको आधारभूत सिद्धान्तलाई नै क्षति पुर्‍याएको छ।
नेपोबेबी आन्दोलनको विश्वव्यापी समयरेखा
जेन–जीले नेपोबेबीविरुद्ध जुन आलोचनात्मक स्वर उठाएको छ, त्यसको विकास क्रमशः भएको हो। यो विश्वव्यापी चेतनाको एउटा इतिहास हो।

नेपोबेबीको उत्पत्ति र चर्चा
‘नेपोबेबी’ शब्द आधिकारिक रूपले कहिले प्रयोग भयो भन्न गाह्रो छ। तर, सन् २०१० को दशकको सुरुवातमा इन्टरनेटमा हलिउडका ‘इन्डस्ट्री बेबीज’ को बारेमा चर्चा बढ्न थाल्यो। यसबेला चर्चाका केन्द्रमा सन् १९९० को दशकका नेपोबेबीहरू थिए। यी चर्चाहरू मुख्यतः गसिप ब्लगहरू र फ्यान फोरमहरूसम्म सीमित थिए। जेन–जीको एउटा ठूलो हिस्सा यो बेलासम्म सानै थियो, त्यसैले यो बहस मुख्यधारामा आएको थिएन।

सामाजिक सञ्जालको उदय
सन् २०१४/१५ सम्ममा, इन्स्टाग्राम र युट्युबले ठूलो प्रसिद्धि पाएर ‘इन्फ्लुएन्सरहरू’लाई जन्म दियो, जसले आफ्नो प्रतिभा र सामग्रीको बलमा प्रशंसक बटुलिए। यसले अवसरको एक नयाँ सम्भावना खोल्यो। यसै बेला जेन–जीको पुरानो पुस्ता किशोरावस्थामा पसेर सामाजिक सञ्जालमा सक्रिय भइरहेका थिए। उनीहरूले देख्न थाले कि इन्फ्लुएन्सरहरूले आफ्नो मेहनतले प्रसिद्धि पाएका छन्, जबकि सेलेब्रिटी छोराछोरीहरूले जन्मैले नै सबै पाएका छन्। यो एउटा सूक्ष्म जागरुकताको सुरुवात थियो।

सन् २०१७–२०१९ः बहसको तीव्रता र जेन–जीको आवाज
यो समयमा नेपोबेबीहरूको नयाँ पुस्ताको सुरुवात भयो, जसले गर्दा सामान्य दर्शकहरूमा असन्तुष्टि बढ्यो। जेन–जी, यो समयमा युवावस्थामा पसेर, आफ्नो विचार धेरै स्पष्ट र दृढतापूर्वक राख्न थाले। सामाजिक सञ्जाल उनीहरूको आलोचनाको मुख्य मञ्च बन्यो। उनीहरूले ‘हसल कल्चर’ लाई महत्व दिन थाले।

सन् २०२०ः कोभिड–१९ महामारी र टिकटक 
कोभिड–१९ को बन्दाबन्दीले मानिसहरू घरमा बसेर सामाजिक सञ्जालमा धेरै समय बिताउन थाले। यसै बन्दाबन्दी अवधिमा, जेन–जीले अवसरको असमानताको बारेमा गहिराइले सोच्ने समय पायो। उनीहरूले आ–आफ्ना आर्थिक संघर्ष, भविष्यको अनिश्चितता र करियरको चिन्ता अनुभव गरे। यस्तो समयमा नेपोबेबीहरूको विशेषाधिकारले उनीहरूमा रिस बढायो। टिकटकमा ‘नेपोबेबी’ एक ठूलो ट्रेन्ड बन्न पुग्यो। युवाहरूले भिडियो बनाएर नेपोबेबीहरूको सूची बनाउने, उनीहरूको तुलना बाहिरी प्रतिभाहरूसँग गर्ने र उनीहरूको विशेषाधिकारलाई बहिष्कार गर्ने काम थाले। यो डिजिटल आन्दोलन जस्तै थियो।

सन् २०२२ः ‘भल्चर’ म्यागजिनको फिचर र चरम विन्दु
न्युयोर्क म्यागजिनको ‘द कट’ ले ‘इअर अफ द नेपोटिज्म् बेबी’ शीर्षकको एउटा लेख प्रकाशित गर्‍यो, जसले यस शब्दलाई मुख्याधाराको मिडियामा ल्यायो। यसले यस विषयलाई चरम विन्दुमा पुर्‍यायो। यो लेख एउटा गम्भीर सामाजिक विश्लेषण थियो जसले हलिउडका धेरै नेपोबेबीहरूको विशेषाधिकारको विस्तृत विवरणी दियो। यो लेख इन्टरनेटमा भाइरल भयो। यसै घटनापछि, ‘नेपोबेबी’ शब्दले एउटा वैश्विक घटनाको रूप लियो र विश्वका अन्य देशहरूको मनोरञ्जन उद्योग, राजनीति र व्यवसायमा पनि लागू हुन थाल्यो।

वैश्विक विस्तार र नेपाल
विश्वव्यापी बहसले गर्दा भारत, कोरिया, बेलायतलगायत देशहरूमा पनि यस्तै चर्चाहरू भडकए। नेपालमा यो वैश्विक चर्चाको प्रतिध्वनि जस्तै आयो। नेपाली जेन–जीले सामाजिक सञ्जालमा राजनीतिमा भएको नेपोटिज्मलाई उजागर गर्न थाले। उनीहरूले नेपाली नेपोबेबीहरूको नाम र उनीहरूको पारिवारिक पृष्ठभूमिलाई ‘एक्सपोज’ गर्ने भिडियोहरू बनाउने, मिम बनाउने र आलोचनात्मक टिप्पणीहरू लेख्न थाले।

विश्वव्यापी राजनीतिक जेन–जी क्रान्तिको विस्तृत समयरेखा
जेन–जीको शक्ति केवल सांस्कृतिक आलोचनासम्म सीमित छैन। उनीहरू वास्तविक राजनीतिक परिवर्तनका लागि पनि लडिरहेका छन्। विश्वभरि युवाहरू आफ्नो भविष्यका लागि उठिरहेका छन्।

बंगलादेशः कोटा प्रणालीविरुद्ध जुलाई क्रान्ति
बंगलादेशमा जेन–जीको आन्दोलनको सुरुवात सन् २०२४ को जुन महिनामा भयो,जब उच्च अदालतले स्वतन्त्रता सेनानीको वंशजहरूलाई सरकारी नोकरीमा कोटा दिने प्रथा चालु राख्ने निर्णय गर्‍यो। यो फैसलाले विद्यार्थीहरूमा रोष फैलायो। जुन ६ देखि ढाका विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन सुरु गरे अगाडि बढ्दै जुलाई १ सम्म ढाका सहर नै अवरुद्ध भयो।

प्रधानमन्त्री शेख हासिनाले विद्यार्थीलाई ‘राजाकार’ भनेर लक्षित गरेपछि स्थिति अरू बिग्रियो। ‘राजाकार’ भन्नाले देशद्रोही बुझिन्छ। जुलाई १५–१७ मा प्रहरीको गोली प्रहारमा धेरै विद्यार्थीहरूको मृत्यु भयो र हजारौं घाइते तथा गिरफ्तार भए। तर, जेन–जीको दृढताले अन्ततः सरकारलाई झुकाउन सफल भयो। अगस्ट ३–५ मा भएको देशव्यापी अहिंसक आन्दोलनपछि शेख हासिना देश छोडेर भागिन्।

केन्याः वित्त विधेयकविरुद्ध आन्दोलन

केन्यामा जेन–जी पुस्ताको आन्दोलनको सुरुवात सन् २०२४ को जुन महिनामा भयो, त्यसबेला सरकारले आमजनतामाथि थप कर लगाउने वित्त विधेयक २०२४ ल्याएको थियो। सामाजिक सञ्जालमा ‘रिजेक्ट फाईनान्स विल २०२४’ ट्रेन्ड गर्न थाल्यो र जुन १८ मा, हजारौं युवाहरू संसद् भवन अगाडि प्रदर्शनका लागि जम्मा भए। जुन २५ मा, संसद्ले बलपूर्वक विधेयक पारित गर्‍यो, जसले गर्दा रोष झनै बढ्यो। प्रदर्शनकारीहरूले संसद् भवनमाथि आक्रमण गरे। अन्ततः राष्ट्रपतिले विधेयकमा हस्ताक्षर गर्न इन्कार गरे र यसलाई पुनर्विचारका लागि पठाए।

अमेरिकाः ब्ल्याक लाइभ्स म्याटर आन्दोलन र जलवायु न्याय
अमेरिकामा जेन–जी पुस्ताको राजनीतिक सक्रियताको सुरुवात सन् २०२० मा भएको ब्ल्याक लाइभ्स म्याटर आन्दोलनबाट भयो। जर्ज फ्लोयडको प्रहरीले गरेको हत्यापछि देशभरि नश्लीय अन्याय र पुलिस क्रूरताविरुद्ध प्रदर्शनहरू सुरु भए, जसमा जेन–जीको सहभागिता उल्लेखनीय थियो। यसैगरी, जलवायु परिवर्तनविरुद्ध पनि जेन–जीले अग्रणी भूमिका निर्वाह गरेका छन्। ग्रेटा थनवर्गद्वारा सुरु गरिएको ँचष्मबथकँयचँगतगचभ अभियानलाई अमेरिकी युवाहरूले ठूलो मात्रामा समर्थन गरे।

थाइल्यान्डः युवा प्रजातन्त्र आन्दोलन
थाइल्यान्डमा जेन–जीले सन् २०२०/२१ मा प्रजातन्त्र र सुधारको माग गर्दै ठूलो आन्दोलन सुरु गरे। यो आन्दोलन राजशाही र सेनाको प्रभावविरुद्ध थियो। उनीहरूले सामाजिक सञ्जालमा अभियानहरू चलाए र धर्ना प्रदर्शनहरू आयोजना गरे, जसमा हजारौं युवाहरू सहभागी भए।

हङकङ : लोकतन्त्र आन्दोलन
हङकङमा जेन–जीले सन् २०१९ मा एक्स्ट्रडिसन बिलविरुद्ध आन्दोलन सुरु गरे। यो आन्दोलन अगाडि बढ्दै हङकङको स्वायत्तता र लोकतन्त्रको माग गर्दै ठूलो आन्दोलनमा परिणत भयो। युवाहरूले सामाजिक सञ्जालमा अभियानहरू चलाए र धर्ना÷प्रदर्शनहरू आयोजना गरे, जसमा हजारौं युवाहरू सहभागी भए।

भारतः नागरिकता सुधार ऐनविरुद्ध आन्दोलन
भारतमा जेन–जीले सन् २०१९ मा नागरिकता सुधार ऐनविरुद्ध आन्दोलन सुरु गरे। यो ऐनले मुस्लिम समुदायलाई लक्षित गरेकोमा युवाहरूमा रोष फैल्यो। देशभरि विद्यार्थीहरूले प्रदर्शन सुरु गरे जसमा दिल्लीको जामिया मिलिया इस्लामिया र अलीगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीहरू अग्रणी थिए। उनीहरूले सामाजिक सञ्जालमा ‘सिएए प्रोटेस्टट्रेन्ड चलाए र धर्ना प्रदर्शनहरू आयोजना गरे। यो आन्दोलन धर्म निरपेक्ष र नागरिक अधिकारको रक्षाका लागि थियो। भारतीय जेन–जीले आफ्नो सामूहिक शक्ति र डिजिटल संगठन क्षमताको परिचय दिए।

कोलम्बियाः कर सुधारविरुद्ध आन्दोलन
कोलम्बियामा सन् २०२१ मा, सरकारले कोभिड–१९ को आर्थिक प्रभावलाई कम गर्न कर सुधार योजना ल्याएको थियो, गरिब र मध्यम वर्गीय कोलम्बियावासीहरूमा रोष फैल्यो। जेन–जी यो आन्दोलनको अग्रणीमा थियो। उनीहरूले सामाजिक सञ्जालमा अभियानहरू चलाए र देशव्यापी हड्ताल र प्रदर्शनहरू आयोजना गरे। उनीहरूको दृढताले सरकारलाई कर सुधार योजना फिर्ता लिन बाध्य बनायो।

इरानः महिला, जीवन, स्वतन्त्रता आन्दोलन
इरानमा सन् २०२२ मा महसा अमिनीको मृत्युपछि, जेन–जीले महिला अधिकार र व्यक्तिगत स्वतन्त्रताको माग गर्दै ठूलो आन्दोलन गरे। यो आन्दोलन केवल हिजाबविरुद्ध मात्र होइन, बरु पूरै धार्मिक कट्टरपन्थी व्यवस्थाविरुद्ध थियो। इरानी युवाहरू, विशेषगरी महिलाहरूले सामाजिक सञ्जालमा‘आशा अमिनी’ट्रेन्ड चलाए र सडकहरूमा प्रदर्शन गरे। पुलिस क्रूरताले धेरै युवाहरूको मृत्यु भयो। तर इरानी जेन–जीले आफ्नो आवाज उठाउन छोडेनन्। यो आन्दोलन अहिलेम्म पनि जारी छ, र यसले इरानको भविष्यलाई पक्कै पनि परिभाषित गर्नेछ।

फ्रान्सः पेन्सन सुधारविरुद्ध आन्दोलन

फ्रान्समा सन् २०२३ मा सरकारले पेन्सन सुधार योजना ल्याएको थियो, जसले गर्दा कामदारहरूको पेन्सनको उमेर ६२ बाट ६४ वर्षमा बढाउने प्रस्ताव गरिएको थियो। यसो हुँदा युवाहरूले जागिर पाउन झन अफ्टेरो भयो। फ्रान्सेली युवाहरूमा रोष फैल्यो। जेन–जी यो आन्दोलनको अग्रणीमा थियो। उनीहरूले सामाजिक सञ्जालमा अभियानहरू चलाए र देशव्यापी हड्ताल र प्रदर्शनहरू आयोजना गरे। प्रहरी दमनले गर्दा धेरै युवहरू घाइते भए।

तर, उनीहरूको दृढताले सरकारलाई पेन्सन सुधार योजनालाई फिर्ता लिन बाध्य बनायो। विश्वव्यापी रूपमा भएका सम्पूर्ण आन्दोलनहरूमा ‘जेन–जी’ शब्दावली खासै प्रयोग नभए तापनि यी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने जेन–जी पुस्ता नै थियो। समाजिक सञ्जालमा हुर्किएको पुस्ता सडक संघर्षमा आएको थियो र आफ्नो सरकारलाई घुँडा टेक्न बाध्य बनाएको थियो।

  •     जेन–जी आन्दोलन सुरुवातमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्घ केन्द्रित देखिए पनि यो आन्दोलनको प्रमुख कारण वर्षौंदेखि सत्ताामा भएको भ्रष्टाचार, नातावाद (नेपोटिज्म) र आर्थिक असमानता थियो।
  •     नयाँ पुस्ताले कसैले कल्पना गर्न नसकेको परिवर्तन गरिरहँदा पुराना पुस्तालाई ‘जेन–जी’ र ‘नेपोबेबी’ शब्दावली बुझ्नै कठिन छ।
  •     जेन–जी भनेको इन्टरनेटको युगमा हुर्किएको पुस्ता हो। यो पुस्ताले राजनीतिमा खासै वास्ता गर्दैन।
  •     जेन–जी भनेको एउटा निश्चित उमेर समूह होइन। आज २५ वर्ष भएको एक जेन–जी १० वर्षपछि ३५ वर्ष पुग्छ। तर, उनीहरू केवल टेक्नोलोजीमै सीमित हुँदैनन्।
  •     शीर्ष नेताहरूका छोराछोरीहरू सीधै संसद्मा पुग्छन्, मन्त्री बन्छन् र पार्टीको नेतृत्व सम्हाल्छन्। यसले लोकतन्त्रको आधारभूत सिद्घान्तलाई नै क्षति पुर्‍याएको छ।

null
‘न्यायका लागि जेन–जीको स्वर’
तनुजा पाण्डे, 
जेन–जी आन्दोलनका अभियन्ता

मैले सामाजिक सञ्जालमा नेपोबेबी ट्रेन्ड देखें र भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्न प्रेरित भएँ। यो आन्दोलनमा मेरो उपस्थिति व्यक्ति विशेषभन्दा पनि आर्थिक अशमानताप्रति थियो। हामीले धेरै लामो समयदेखि जलवायु परिवर्तन र जलवायु न्यायका मुद्दा उठायौं तर सरकारले सुनेन। दिलीप महतोजस्ता धेरै युवाहरू बदमासीविरुद्ध आवाज उठाउँदा उठाउँदै अस्ताए। राज्यले उनीहरूलाई कहिल्यै पनि न्याय दिएन। अझ सरकारका मान्छे नै नदी र प्रकृति दोहनतिर लागे, जसको असर आममानिसले अझ भनौं पहुँच नभएका समुदायले बेहोर्नुपर्‍यो। यी यस्ता कारणले हामी आजित भइसकेका थियौं। राज्यको स्रोत र निर्णय प्रक्रियामा पहुँच नभएका समुदायको पक्षमा सामाजिक सञ्जालदेखि सडकसम्म नै संघर्ष गर्नु हाम्रो पुस्ताको दायित्व हो। यी सबै कुराका निम्ति ऐक्यबद्धता जनाउन पनि म जेन–जी आन्दोलनमा होमिएको थिएँ।

जेन–जी आन्दोलनमा मेरो सहभागिता कुनै राजनीतिक एजेन्डाका निम्ति थिएन, न त म कुनै राजनीतिक दलसँग सम्बन्धित नै छु। यो आन्दोलनमा म जस्तै सुशासन र न्यायप्रेमी हजारौं युवाहरूको उपस्थिति र ऐक्यबद्धता थियो। जेन–जी आन्दोलनको कुनै नेतृत्व थिएन। यो आन्दोलन युवा, विशेषगरी हाम्रो पुस्ता जेन–जीले स्वतःस्फूर्त रूपमा आह्वान गरेको आन्दोलन थियो। यही मौका छोपेर धेरै स्वार्थ समूहले आफूखुसी खेल्ने र हाम्रो आन्दोलनको एजेन्डा बिथोल्ने प्रयास गरे। मेरै संलग्नता पनि धेरैले प्रश्न गरे। कसैले मलाई नेपाली कांग्रेसको सदस्य भने त कसैले विदेशी दलाल। कतिपय अरू साथीहरूले पनि यस्तै आरोपहरू खेप्नुपर्‍यो। तर, यी सबै आन्दोलनको मर्म तुहाउनका निम्ति भएका प्रयत्न थिए। यी आरोपहरूमा कुनै सत्यता भए त्यसको पुस्टि पनि हुने नै थियो होला।

जेन–जी आन्दोलनले के कमायो त ? कम्तीमा पनि हाम्रो पुस्ताको स्वर अब मुख्य धारको छलफलमा प्रवेश गर्‍यो र राजनीतिक दलहरूलाई सोच्न बाध्य बनायो। अब नीति निर्माण र निर्णय प्रक्रियामा समेत हाम्रो पुस्ताले प्रभाव जमाउनुपर्नेछ। सुशासन, सामाजिक न्याय र जलवायु न्यायलाई संस्थागत बनाउन दीर्घकालीन लडाइँ आवश्यक छ। यो आन्दोलन केवल नेपालको सीमाभित्र सीमित छैन। विश्वभरका युवाले जलवायु न्यायदेखि सुशासनसम्मका मुद्दा उठाइरहेका छन्। हाम्रो आन्दोलन पनि त्यही वैश्विक चेतनाको हिस्सा हो जहाँ युवा पुस्ताले असमानता, अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाएर नयाँ सम्भावना खोजिरहेका छन्।

‘भ्रष्टाचार र असमानताविरुद्ध युवाको उपस्थिति’

सुरज गिरी ‘आभास’, जेन–जी आन्दोलनका अभियन्ता

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपश्चात् हामी युवा पुस्ता जसको दैनिकी सामाजिक सञ्जालमा नै निहित थियो। हामीलाई प्रत्यक्ष असर पर्ने नै भयो। सोही सन्दर्भमा सामाजिक सञ्जालमा नै फिलिपिन्स, इन्डोनेसिया जस्ता देशहरूमा चलिरहेको नेपोबेबी ट्रेन्ड एकाएक देखिन थालेको थियो जसबाट प्रेरित भई नेपालमा पनि भ्रष्टाचार र नातावादविरुद्व व्यापक युवाहरूको विरोध सिर्जना हुन् थाल्यो। सोही परिस्थितिले हामीजस्ता परिवर्तनका अपेक्षक युवाहरूलाई सडकमा आवाज बुलन्द गर्न अभिप्रेरणा मिलेको हो। साथै पुरानो शैलीको राजनीति र व्यवस्थामा देखिएका असमानता, भ्रष्टाचार र निरासाले राष्ट्रनिर्माण नहुने परिवर्तनका लागि नयाँ सोच, नयाँ सम्भावना र नयाँ नेतृत्व आवश्यक छ भन्ने बुझाइले मलाई जेन–जी आन्दोलनतर्फ तानेको हो।

मैले विभिन्न समूहमा विभाजित अभियान्ताहरूसँग सहकार्य गर्ने, काठमाडौंबाहिरका अभियानहरूलाई अभिप्रेरित गर्ने कर्ममा आपूmलाई तल्लीन गराएको थिए। पहिलो दिनको घटनापश्चात् विभिन्न क्षेत्रका साथीहरूसँग रणनीतिक छलफल, आन्दोलनका एजेन्डा निर्माण र संगठनात्मक कार्यमा सक्रिय भएँ। म युवालाई नेतृत्वमा ल्याउने र सन्देशलाई सही तरिकाले समाजमा पुर्‍याउने भूमिकामा अघि बढिरहेको छु।

नयाँ पुस्ताको सामूहिक चेतनाको स्वरका रूपमा मैले आन्दोलनलाई बुझेको हुनाले म आन्दोलनमा थप सक्रिय रूपमा अगाडि बढेको हुँ। अहिले म आन्दोलनको सन्देशलाई अझ स्पष्ट र सकारात्मक ढंगले अघि बढाउने काम गर्दै छु। युवालाई संगठित गर्ने, उनीहरूको विचारलाई नीति–निर्माणमा जोड्ने र भ्रष्टाचारविरुद्धको साझा अभियानलाई सशक्त बनाउन सक्रिय छु। सबै घटना क्रमलाई नियान्दै अन्तरिम सरकारलाई सफल बनाउन सहकार्य र समन्वयको अवस्था सिर्जना गर्न भूमिका निर्वाह गर्दैछु।

आगामी दिनमा यस आन्दोलनलाई संस्थागत गर्दै, दीर्घकालीन राजनीतिक र आर्थिक सुधारको दिशामा अघि बढाउन भूमिका निर्वाह गर्ने। युवालाई अवसर दिने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र नेपाललाई भ्रष्टाचारमुक्त, सक्षम र दिगो बनाउने दिशामा कार्य गर्ने योजना छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x