२९ माघ २०८२, बुधबार

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा ‘क्याम्पा कोला’ उत्पादन सुरु

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार ०८:३६ मा प्रकाशित

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको सीजीसँगको व्यावसायिक सम्बन्ध विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।

  • रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँग सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन र वितरण सुरु गरेको छ।
  • आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले क्याम्पा कोला ५० वर्ष पुरानो ब्रान्ड भएको र नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएको बताए।
  • चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले रिलायन्ससँगको साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय पेय पदार्थ उपलब्ध गराउने बताए।

३० असार, काठमाडौं । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप (सीजी) सँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ उत्पादन थालेर नेपाली बजारमा ल्याएको छ ।

क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी विङ र रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपीएल जस्ता इभेन्ट स्पोन्सर गर्दै आएको छ ।

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको सीजीसँगको व्यावसायिक सम्बन्ध विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।

सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरेपछि रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्रान्डलाई फेरि एक पटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो ।

‘चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा कोला ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौं।’

क्याम्पा कोला गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्ने छ । यो ब्रान्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।

मूल्य कति ?

कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् ।

२ सय ५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ छ भने क्याम्पा २ सय ५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ तोकिएको छ । रिफ्रेसिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङ साथ क्याम्पा कोलाले नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु र समग्र देशका लागि गौरवको विषय रहेको बताए ।

‘यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिने छ । हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं ।’

रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड

रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी कम्पनी हो । यस कम्पनीको उद्देश्य उपभोक्ताको दैनिक जीवन सहज र सशक्त बनाउनु हो ।

नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिमा जोड दिँदै आरसीपीएलले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनलाई स्थानीय आवश्यकता र स्वाद अनुसार तयार पारी बिक्री–वितरण गर्दै आएको छ । यी उत्पादनमा सबैको पहुँच हुने गरी उचित मूल्यमा उपलब्ध गराइन्छ ।

रिलायन्स इन्डस्ट्रिजको भरपर्दो संरचना र विश्वासका आधारमा आरसीपीएलले उपभोक्ताको परिवर्तनशील आवश्यकता सम्बोधन गर्ने उद्देश्य राखेको छ ।

यसले समुदायसँग लामो समयसम्मको सम्बन्ध बनाउने र राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । आरसीपीएलले घरपरिवार र समुदायहरूको विविध आवश्यकता सम्बोधन गर्दै विश्वस्तरीय, भरपर्दो र मूल्यमा आधारित उत्पादन प्रदान गर्दै आएको छ ।

चौधरी ग्रुप

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो तथा अग्रणी व्यावसायिक समूह हो, जसअन्तर्गत विश्वबजारमा २ सय २ भन्दा बढी कम्पनी र २ सय ६१ ब्रान्ड क्रियाशील छन् ।

विश्वभरि २० हजारभन्दा बढी कर्मचारीको बलमा अघि बढिरहेको यस समूह नेपालको एकमात्र बहुराष्ट्रिय कम्पनी हो । खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रविधि, रियल इस्टेट र आतिथ्य सत्कारजस्ता क्षेत्रमा आफ्नो दख्खल जमाउँदै आएको चौधरी ग्रुपले उपभोक्ताको आवश्यकता बुझेर सुरक्षित, प्रभावकारी र विश्वस्तरीय सेवा तथा उत्पादन प्रदान गर्दै आएको छ ।

नेपाललाई विश्वमा चिनाउने तथा देशको समग्र विकासमा योगदान पुर्‍याउने अठोट सहित चौधरी ग्रुपले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइखबर यो समाचार अनलाइन खबर बाट साभार गरिएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x