१ श्रावण २०८३, शुक्रबार

ललुङजोङको नेपाली भूमिमा चिनले भवन बनाएको-अध्यक्ष पाल्जोर

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार ०८:०३ मा प्रकाशित

हुम्लाका स्थानीयहरुले पुर्खाको पालादेखि भोगचलन गरिरहेको जमिन कसरी सरकारले चीनको भन्न सक्छ ? याे प्रश्न गरिरहँदा नाम्खा गाउँपालिका- ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ भने चिनियाँहरुले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमिमा आएर भवनहरु बनाएको बताउँछन् । सीमा भएको वडाकै वडाध्यक्ष तामाङले पहिलेदेखि नै नेपालीले नै हकभोग गर्दै आएको क्षेत्रमा अहिले आएर चिनियाँहरुले भवन बनाएको बताए ।

वडाध्यक्ष तामाङले भने, ‘खोलापारी उनीहरु बस्थे, वारि हाम्रो हो । ६६ सालदेखि खोलापारि चीनले रोड खन्यो, वारि नेपालले खनेको थियो । त्यतिखेर चीनले कुनै अवरोध गरेको थिएन । खोलादेखि भवन भएको ठाउँसम्म आउन करिब डेढ किलोमिटर लाग्छ । अहिले त चिनियाँ पक्ष डाँडासम्म आफ्नो भनेर पो आएको छ ।’

वडा अध्यक्ष तामाङले थपे, ‘शुरुमा बस्तुभाउ पाल्ने बढी हुन्थ्यो र चरनका लागि गोठ राख्न त्यहाँसम्म नेपालीहरु पुग्थे । तर पछिल्ला दिनमा बस्तुभाउ पाल्नेहरू कम भएपछि त्यहाँसम्म कमै नेपालीहरु मात्रै पुग्न थाले। दर्शनका लागि जानेहरुले भने नेपाली जमिनमा चीनले भवन बनाएको कुरा एकपछि अर्को गर्दै भन्न थालेपछि अहिले धेरै चासो भएको हो ।’

१२ नम्बर पिल्लर लाप्चा डाँडामा रहेको र ११ नम्बर पिल्लर नाम्खा गाउँपालिका- ६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा छ । दुबै पिल्लरको दुरी टाढा छ । तामाङले १२ नम्बर पिल्लरको अवस्थितिलाई हेर्दा पनि भवन बनाएको क्षेत्र नेपालकै भएको बताए। अध्यक्ष तामाङले भने, ‘नेपालकै क्षेत्रमा उनीहरू धेरै भित्र छिरेका छन् । उनीहरु खोलाभन्दा डेढ किलोमिटर यता आएर भवन बनाएका छन् । ०६९ सालमा विरोध गर्दा पछि हटेका थिए । अहिले त अझ धेरै भवन बनाएर बस्न थाले । यो वर्षदेखि उनीहरुले यो क्षेत्र हाम्रो भनेर बस्न थालेका छन् । सरकार भने सीमा मिचिएको छैन भन्छ ।’

सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु अपरिपक्व काम भएको तामाङको भनाई छ । सभार न्यूज २४ नेपाल- तस्बिर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x