विशेष अधिवेशन बोलाउन काङ्ग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार विहान ९ बजे बसेको संस्थापन पक्षीय शीर्ष नेताको बैठकले संसदको विशेष अधिवेशन माग गर्ने निष्कर्ष निकालेको छ ।
काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले दिएको जानकारी अनुसार असोज १९ गतेको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएर संसदको विशेष अधिवेशन माग गर्ने निर्णय लिइने छलफलको निष्कर्ष छ ।
उनले भने, ‘देशमा भ्रष्टाचार बढ्यो । सरकारले कोभिडको पनि राम्रोसँग व्यवस्थापन गर्न सकेन । जनजीविकाको सवाल छ । राहतको व्यवस्था छैन । यी विषयलाई लिएर संसदको विषेश अधिवेशन माग गर्ने र देशव्यापी सडक संघर्षमा कार्यक्रम पर्ने प्रस्ताव केन्द्रीय समितिमा लाउने र छलफलबाट अगाडि बढ्ने कुरा भएको छ ।’
संसदको विशेष अधिवेशन बोलाउन संसदको सदस्यको २५ प्रतिशत सदस्यहरु आवश्यक पर्छ। काँग्रेससँग २२ प्रतिशत सांसद छन्। त्यसका लागि विपक्षी दल जनता समाजवादी पार्टीसँग छलफल गरेर जाने काँग्रेसको तयारी छ ।
संविधानको धारा ९३ (३) मा संसदको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने उल्लेख छ।
‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’ उक्त धारामा लेखिएको छ, ‘त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ ।’

रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए
गत आसार १८ गते प्रधानमन्त्री केपी शर्माओलीले आफ्नै पार्टी नेकपामा अल्पमतमा परेपछि मन्त्रिपरिषद्मा हतार-हतार निर्णय गरेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपतिले पनि त्यही दिन मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरी संसदलाई अधिवेशन अन्त्य भएको जानकारी गराएकी थिइन्।
त्यतिबेला नै असार २४ गते विपक्षी दल काँग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको थियो । तर काँग्रेस निर्णय गर्ने तहमा नपपुगेपछि कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भनेर विरोध मात्र गरिएको थियो ।
काँग्रेसले औपचारिक निर्णयमार्फत नै सरकारको उक्त कदमको भत्र्सना गरेको छ । तर काँग्रेस सभापति देउवालाई पार्टीभित्रैबाट सरकारसँग मिलेमतो गरेरको आरोप लागेपछि सरकारविरुद्ध आक्रम ढंगले प्रस्तुत हुने रणनीतिमा काँग्रेस पुगेको छ ।
देउवा निवासमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खण्ड्का, सहमहामन्त्री महत, नेता गोपालनमान श्रेष्ठ र एनपी साउनबीच भएको छलफलले सदन र सडकबाट सरकारका गलत कदमको प्रतिवाद गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउने सहमति भएको छ ।
आजको बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका , भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेको छ । महतकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी कार्यालयमा दर्ता गरिएको विरोधपत्रको केन्द्रीय समितिमा स्पष्टीकरण दिने जनाइएको छ । सभार रातोपाटी




