अवधी भाषामा अनुवाद नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण
स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको हो ।
अवधी भाषामा प्रकाशित संविधानको प्रतिलाई काठमाडौंमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानुनकर्मी सन्तोष रेग्मीले प्रदान गर्नुभयो । सल्लाहकार रेग्मीले संविधान प्रकाशनबारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधीभाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधी भाषीलाई संविधान पढन आग्रह गर्नुभएको सल्लाहकार रेग्मीले बताउनुभयो । उहाँका अनुसार सरकारले गर्ने कामलाई सहयोग गरेको भन्दै कानुनलाई स्थानीयकरण गरेकोमा सचिव सापकोटाले खुशी व्यक्त गर्नुभयो ।
यसैविच प्रकाशित अवधी संविधानलाई भाषा आयोगमा पनि पठाइएको सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो ।
भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा सँविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन दिएको थियो । अनुसन्धान केन्द्रले अवधी संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ । आगामी दिनमा अन्य कानुनलाई पनि अनुवाद गरी प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो । गोरखापत्रअनलाइन बाट



