१२ कार्तिक २०८३, बुधबार

कोरोनाको बहानामा फेरि चिनियाँ नाकाबन्द

एसीपी संवाददाता

३० श्रावण २०७९, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं । नेपाल र चीनबीच सञ्चालनमा रहेका रसुवागढी र तातोपानी नाका हाल बन्द छन्। रसुवागढी नाका गत शनिबारदेखि बन्द भएको हो भने तातोपानी नाका बुधबारदेखि। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच गत बुधबार भेटवार्ता भएको थियो। परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किएपछि मन्त्रालयले विज्ञप्तीमार्फत दुवै नाका सञ्चालन गर्ने सहमति भएको जनाएको थियो। तर उनी त्यहाँ रहँदा नै दुवै नाका बन्द भइसकेको थियो । तर, उनी फर्किएपछि नाका सञ्चालन बारे कुनै पहल भएको छैन।
चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि दुवै नाका बन्द गरिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले कोरोनाको कारण नाका बन्द भएको बताए। ‘नाका बन्द बारे हामीलाई आधिकारिक पत्र पठाएका छैनन्। चिनियाँ अधिकारीले कोरोना बढेकाले एक साता नाका सञ्चालन नगर्ने बताएका थिए’, उनले भने।

उनका अनुसार सुरुमा चिनियाँ पक्षले आउने सोमबारसम्म नाका बन्द गर्ने बताएको थियो। तर, पछि कोरोनाको दर बढ्दै गएका कारण नाका तत्काल सञ्चालनमा नआउने जानकारी दिएको छ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत राम मैनालीले नाका खुलाउने बारे चिनियाँ पक्षले कुनै पनि जानकारी नदिएको बताए। ‘शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ।’

रसुवागढी नाकामा व्यापार गर्दै आएका धर्म पौडेलले चिनियाँ तीसवटा गाडी लोड भएर बसेका बताए। ‘चिनियाँ गाडीले सामग्री लोड गरेर नेपालतर्फ ल्याउन लागेका थिए। त्यही समयमा तिब्बत क्षेत्रमा कोरोना बढ्यो। कोरोना बढेपछि सवारी साधन सञ्चालन तथा मानिसहरू घरबाहिर निस्कनसमेत रोकियो’, उनले भने।

अहिले चीनबाट दशैंका सामग्री तथा जाडो महिनामा लगाउने कपडा आउने गरेको व्यापारी पौडेलले बताए। कोरोनाप्रति चिनियाँ संवेदनशील भएकाले पनि नाकाबाट सामग्री नआएको हो। लोड गरिएका सामग्री आयात हुन नपाउँदा समस्या सिर्जना भएको उनको भनाइ छ।

कोभिड-१९ सुरु भएयता रसुवागढी नाका वान वे सञ्चालन हुँदै आएको छ। नाका पूर्णरूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हु्ँदै आएको थियो। केही समय पहिले नाकाबाट सामग्री आयात बढाउनका लागि दुवै देशका स्थानीय प्रशासन सहमत भएका थिए।

तर, चीनमा पुनः कोरोना बढ्न थालेपछि नाकाबाट सामग्री आयात रोकिएको हो। कोरोनाप्रति चिनियाँहरू निकै सचेत छन्। कोरोना सुरु हुनुअघि नेपाली व्यापारी सामान लिनका लागि चीनको केरुङसम्म जान पाउँथे। कोरोना सुरु भएपछि चिनियाँले सामग्री नेपालसम्म नै ल्याउन थालेका थिए।

केही समयअघिसम्म नाकाबाट दैनिक १४ वटा चिनियाँ गाडीले सामग्री आयात गर्दै आएका थिए। तर, पछि सातदेखि १४ वटा चिनियाँ गाडीले मात्रै सामग्री आयात गरिरहेकामा नाका पुनः बन्द अवस्थामा पुगेको हो।

विश्वव्यापी फैलिएको कोभिड-१९ का कारण २०७६ माघ २५ गतेदेखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आएको भए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको थियो।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ। नाका बन्द हुनु अगाडि तातोपानी नाकाबाट दैनिक दुईवटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x