२० श्रावण २०८३, बुधबार

कोहलपुर नगरपालिकामा आज किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’

एसीपी संवाददाता

१० आश्विन २०८०, बुधबार ११:१८ मा प्रकाशित

कोहलपुर नगरपालिकामा आज किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाउन सुरु गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको आग्रहमा स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा लक्षित किशोरीलाई खोप लगाउन लागिएको हो ।

कोहलपुर नगरपालिकाले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दुई सय किशोरीलाई लगाउने लक्ष्य राखेको हो  । कतिपयले भेरी अस्पतालबाट समेत खोप लगाइसकेकाले पालिकाले आफ्नै सभाहलमा आज खोप लगाउने मेसो मिलाएको हो । १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ। स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताउनुभयो। छ महिनापछि खोपको दोस्रो मात्रा दिइने छ । नगर उपप्रमुख संगिता सुवेदीले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था विकराल रहेकाले यो खोपपछि कम्तीमा उक्त समस्याबाट जोगिने बताउनुभयो । खोप अभावका कारण सबै उमेर समूहका किशोरीहरुलाई खोप दिन नसकिएको पनि उहाँले बताउनुभयो । सरकारले उमेर हद तोकेरै खोप लगाउन भनेकाले १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा सामाजिक विकास समिति संंयोजक इश्वरी विक, आर्थिक विकास समिति संयोजक अनिता बुढा, स्वास्थ्य शाखाका प्रमुख अनिलसेन ठकुरीलगायतको उपस्थिति रहेको थियो । सरकारले गत भदौ २७ गतेबाट लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एचपिभी खोप उपलब्ध रहेको छ ।एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x