दलाली होइन, योग्यता र इमानदारीबाट जनविश्वास बढाउनुपर्नेमा डा. सिद्दीकीको जोड
काठमाडौं – नेपालमा मुस्लिम समुदायभित्र आफ्नो स्वार्थपूर्तिका लागि ‘दलाली’ प्रवृत्तिलाई प्राथमिकता दिँदा योग्य, इमानदार र स्वाभिमानी व्यक्तिहरू ओझेलमा परेको भन्दै डा. सलाहुद्दीन अख्तर सिद्दीकीले चिन्ता व्यक्त गरेका छन्।
डा. सिद्दीकीका अनुसार तत्कालीन स्वार्थ पूरा गर्न अपनाइने गलत प्रवृत्तिको परिणाम अन्ततः समुदायले नै भोग्नुपर्ने हुन्छ। त्यसैले दलालीको सट्टा योग्यता, इमानदारी, स्वाभिमान र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
उनले भनेका छन्, “दलालीको सट्टा योग्यता र इमानदारीको विकास गर्दै जनविश्वास बढाउनमा लागौं। दुश्मनले गाली गर्दा तपाईंको चेतनाशक्ति बढ्छ, हतास हुनु हुँदैन।”
योग्य र स्वाभिमानी मुस्लिमहरूलाई ओझेलमा पार्ने प्रवृत्तिविरुद्ध इमानदारी र क्षमताको प्रदर्शन नै प्रभावकारी उपाय भएको उनको भनाइ छ। गलत प्रवृत्तिलाई उजागर गर्दै आफूले सही बाटो अपनाउनुपर्नेमा उनले जोड दिएका छन्।
डा. सिद्दीकीले मुस्लिम समुदायका अभिभावक तथा अगुवाहरूलाई आफ्ना सन्ततिको भविष्य, शिक्षा, क्षमता र अधिकारका विषयमा आवाज उठाउनसमेत आग्रह गरेका छन्। उनका अनुसार आगामी पुस्तालाई सक्षम, शिक्षित र आत्मनिर्भर बनाउन समुदायभित्र सकारात्मक सोच र योग्यताको विकास आवश्यक छ। यो वहाँको समाजिक संजालमा पोस्ट गरेको स्वतन्त्र बिचार हो ।


