१३ कार्तिक २०८३, बिहीबार

चिनीयाँहरु ह्याक गरी करोडौं रकम झवाम् पारेका थिए अहिले चिनीयाँ कम्पनीलाई एक जना नेपालीले घनचक्कर बनाए

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार १७:०६ मा प्रकाशित

त भन्दा म के कम भन्ने उखान केहि महिना आगाडी बिभिन्न एटिएमबाट चिनीयाँहरु ह्याक गरी करोडौं रकम झवाम् पारेका थिए अहिले चिनीयाँ कम्पनीलाई एक जना नेपाली घनचक्कर बनाई दिएको कुरा आएको छ । उल्लेखित समाचार शिलापत्रबाट जस्ताको त्यस्तै साभार गरिएको छ ।

सरकार वैदेशिक लगानी भित्र्याउने अनेकन प्रयासमा लागिरहेको छ । कानुनी अड्चनलाई सजिलो बनाउनेदेखि दाता सम्मेलनसम्म गरेको सरकारले चिनियाँ लगानी भित्र्याउन फ्रि भिसा अभियानसम्म ल्यायो ।

सरकारको त्यही सहजीकरणबाट नेपालमा लगानी गर्न आएका चिनियाँ लगानीकर्ताको एक समूह भने एक नेपालीका कारण तनाव मात्र परेको छैन, लगानी फिर्ता लैजाने प्रयासमा लागेका छन् । 

जनावरका लागि आहार उत्पादन गर्ने उद्देश्यले टियान यु इन्टरनेसनल कम्पनी स्थापना गरेका चिनियाँ लगानीकर्ता याङ झाओ यु लगानी फिर्ता गर्ने मुडमा पुगेका हुन् । आफूलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको भाइ बताउने गमबहादुर लामिछानेका कारण ती चिनियाँ लगानीकर्ता तनावमा परेका हुन् ।

वैशाख २०७६ मा दर्ता भई चितनवमा काम सुरु भइसकेको त्यो कम्पनी लामिछानेकै कारण सञ्चालनमा आउन सकेन र अहिले याङ कम्पनी बन्द गरेर लगानी फिर्ता लैजाने प्रयासमा लागेका छन् । 


लमजुङ घनपोखराका लामिछानेले घलेको भाइ भनेर चिनियाँ लगानीकर्तालाई विश्वासमा लिएका थिए । त्यही विश्वासका आधारमा साझेदारीमा दुई जनाले १० करोड पुँजीको कम्पनी दर्ता गरेका थिए ।

कम्पनीमा करिब दुई प्रतिशत शेयर पाएका लामिछानेले  वर्षदिन बित्न नपाउँदै कम्पनीको शेयर एकलौटी मात्र बनाएनन्, कम्पनीका लागि झन्डै ७ करोडमा खरिद गरेको घर पनि आफ्नै नाममा दर्ता गराएपछि लामिछानेको कर्तुत फर्दाफास हुन थालेको हो । त्यसबीचमा लामिछानेले चिनियाँ मात्र होइन, अन्य प्रशस्त उच्चपदस्थ नेपालीलाई समेत ठगी गरेकाे पुष्टि भयो ।

लामिछानेको चिनियाँमाथि बदमासी

लामिछानेले चिनियाँ लगानीकर्ता याङ झाओ युलाई कतिसम्म गुमराहमा राखेका रहेछन् भन्नेचाहिँ घरजग्गा खरिद प्रकरणले पुष्टि गर्छ । चिनियाँ नागरिक याङ झाओ युको नाममा १६ वैशाख २०७६ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी टियान यु इन्टरनेसनलको करिब २ प्रतिशत शेयर लामिछानेको नाममा छ । त्यही कम्पनीका लागि घरजग्गा खरिद प्रकरणमा भने लामिछाने नै प्रथम पक्ष भएर एकातिर चिनियाँ व्यापारी याङसँग सम्झौता गरेका छन्, अर्कातिर सम्झौताविपरीत घरजग्गा कम्पनीको नभई आफ्नो नाममा दर्ता गराएका छन् ।

शिलापत्रलाई प्राप्त कागजातअनुसार लामिछानेले प्रथम पक्ष भएर चिनियाँ व्यापारी याङसँग घरजग्गा खरिद गरेर कम्पनीको नाममा पास गर्ने उल्लेख छ । कम्पनी दर्ता भएको सात महिनापछि अर्थात् ८ कात्तिक २०७६ मा कम्पनीलाई आवश्यक भनेर खरिद गरेको घर लामिछानेको एकल स्वामित्व हुने गरी उनकै नाममा पास भएको देखिन्छ ।

कात्तिक २०७६ मा मालपोत कार्यालय डिल्लीबजारको रेकर्डमा लामिछानेले उक्त घर खरिद गरेको देखिए पनि साउन २०७६ मा लामिछाने र चिनियाँ लगानीकर्ताबीच भएको सम्झौतामा भने घर टियान यु इन्टरनेसनल कम्पनीको नाममा हुने भनिएको छ । सम्झौतापत्रको ५ नम्बर बुँदामा भनिएको छ, ‘उल्लेखित घरजग्गा याङ झाओ युको एकल हक कायम हुनेगरी कम्पनीको नाममा दर्ता हुनेछ ।’


सामाखुसीस्थित दुर्गा मानन्धर (लामा) को घर खरिद गर्ने सहमति उनीहरूबीच भएको थियो । सम्झौताअनुसार घरजग्गा खरिद गर्न चिनियाँ व्यापारी याङले लामिछानेलाई ६ करोड ८० लाख रुपैयाँ उपलब्ध गराएको देखिन्छ । र, सो रकम सम्झौतापत्रमै उल्लेख छ । सम्झौतापत्रमा उल्लेख भएअनुसार  ६ करोड ८० लाखमध्ये ८० लाख घरजग्गा खरिद गर्दा लाग्ने करबापतको रकम भनेरसमेत लेखिएको छ ।

टियान यु इन्टरनेसनलको नाममा रहने सम्झौताअनुसार घरजग्गा खरिद भए पनि लामिछानेले एकलौटी आफ्नो नाममा दर्ता गरेको चिनियाँ लगानीकर्ताले निकै पछि पत्तो पाएका हुन् ।

कम्पनीका प्रतिनिधिले शिलापत्रसँगको भेटमा लामिछानेले भाषा र प्रक्रियाका नाममा पहिलादेखि नै शंकास्पद काम गरिरहेको भए पनि विश्वासकै आधारमा घर खरिदको सम्झौता भएको तर घर उनले आफ्नो नाममा पास गरेको निकै पछि मात्र थाहा पाएको बताए । ती प्रतिनिधिले चिनियाँ लगानीकर्तालाई छलछाम गरेर रकम दुरुपयोग गरेको पुष्टि भएपछि लामिछाने सम्पर्कविहीन भएको पनि बताए । 

चिनियाँ लगानीकर्तासँग विश्वास जितेर घर खरिदसम्म पुग्न लामिछानेले निकै प्रयास गरेका थिए । चिनियाँ कम्पनीका लागि घर खरिदका लागि त्यो सम्झौता हुनुभन्दा पहिला लामिछानेले ताहाचलमा आफूले ३५ करोडमा घर खरिद गर्न लागेको कागजात चिनियाँ लगानीकर्तालाई देखाएका थिए । त्यस कागजातमा ५ करोड बैना दिइसकेको पनि उल्लेख थियो । चीनमा रहेका टियान यु इन्टरनेसनलका लगानीकर्ता याङ झाओ युसँग लामो समय वीच्याटमा संवाद भएको थियो ।

कम्पनीका लागि घर खरिद गर्नेबारेको त्यो लामो संवादका क्रममा लामिछानेले तत्कालीन राजपरिवारका सदस्यसँग चिनजान र सम्बन्ध रहेको पनि बताएका थिए । स्रोतका अनुसार त्यस क्रममा लामिछानेले राजपरिवारसँग चिनजान भएको एक जना दिदी हुनुहुन्छ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहसँग एक महिलाले खिचेको फोटो ती चिनियाँ व्यापारीलाई पठाएका थिए ।

केही महिनाको संवादपछि चिनियाँ नागरिक याङ झाओ यु घर खरिदका लागि राजी भए र त्यसैअनुसार सम्झौता गरे । उनले घर खरिद गर्नलाई ६ करोड ८० लाख रुपैयाँ उपलब्धसमेत गराए । खासमा घरको मूल्यभन्दा बढी रकममा सम्झौता भएको र लामिछानेले त्यो रकम लिएको चिनियाँ पक्षले बताएको छ ।

त्यसरी घर खरिद विवाद उत्कर्षमा पुगेपछि चिनियाँ लगानीकर्ता र लामिछानेको भेट भइरहेको छैन । अहिले चिनियाँ लगानीकर्तासँग सम्पर्कमा नरहेका लामिछाने भने चिनियाँ व्यापारीले पैसा ल्याउन नसकेपछि विवाद उठेको दाबी गर्छन् ।शिलापत्रसँग कुराकानी गर्दै लामिछाने चिनियाँ लगानीकर्ता याङको एक रुपैयाँ पनि नखाएको र घर खरिद पनि आफ्नै रकमले गरेको दाबी गरे ।

लामिछानेले भने, ‘मैले अहिलेसम्म चिनियाँ लगानीकर्ताबाट पैसा खाएको छैन, र घर पनि आफैँले ऋण निकालेर खरिद गरेको हुँ ।’ चिनियाँ लगानीकर्ताले नेपालमा पैसा ल्याउन नसकेपछि ममाथि आरोप लगाएको बताइरहेका लामिछाने नेपालमा चिनियाँका लागि सहजीकरणका लागि ठूलो भूमिका खेलिदिएको र आफ्नो कम्पनीसँग मिलेर काम गर्ने वातावरण मिलाइदिएको दाबी गर्छन् । 

तर, सम्झौतामा कम्पनीको नाममा हुने भनिएको घर किन आफ्नो नाममा पास गरेको भन्ने प्रश्नमा भने लामिछानेले प्रस्ट जवाफ दिएनन् । त्यसमाथि चिनियाँ कम्पनीका प्रतिनिधिले शिलापत्रसँग दाबी गरेका छन्, ‘लामिछानेले  घर खरिद गर्न ६ करोड ८० लाख नगद रुपैयाँ लगेका हुन् ।’

त्यति मात्र होइन, लामिछानेले चिनियाँ लगानीकर्तालाई ठग्ने क्रममा कम्पनीको शेयर पनि एकलौटी बनाएका छन् । सुरुमा लामिछानेको १ दशमलव २३ प्रतिशत र चिनियाँ लगानीकर्ताले ९८ दशमलव ७६ प्रतिशत शेयर रहने गरी टियान यु इन्टरनेसनल  कम्पनी दर्ता भएको हो । कम्पनीले चितवनमा जग्गा लिज पनि लिइसकेको छ । १ लाख १० हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमताको साे कम्पनीलाई १५ भदौ २०७६ मा उद्योग विभागले यो कम्पनीलाई विदेशी रकम लगानी गर्ने बाटो पनि खोलिदिएको थियो ।

तर, पछि चिनियाँ नागरिक याङको हस्ताक्षर नै नक्कली बनाएर शेयर एकलौटी बनाएका हुन् । कम्पनीका प्रतिनिधिले शिलापत्रलाई शेयर एकलौटी बनाएको बताइरहँदा उपलब्ध भएका कागजातमा पनि याङको हस्ताक्षर फरक-फरक देखिन्छ । घरजग्गा खरिद गर्न भएको सम्झौतापत्रमा भएको याङको हस्ताक्षर र शेयर खरिदबिक्री भएको भनिएको कागजातमा उल्लेख हस्ताक्षर नै फरक-फरक छ ।

चिनियाँको भनाइमा लामिछानेले सरकारी कर्मचारी र वकिलको मिलेमतोमा कम्पनीका शेयर सदस्यको उपस्थितिबिना नै शेयर एकलौटी बनाएका हुन् । हुन पनि, सरकारी कार्यालयले चिनियाँ नागरिकको भौतिक उपस्थितिबिना ८ करोड रुपैयाँबराबरको शेयर कसरी एकलौटी बनाउन लामिछानेलाई सहयोग गरे भन्ने गम्भीर प्रश्न छ । त्यसरी शेयर एकलौटी बनाएको विषयमा पनि प्रस्ट जवाफ नदिएका लामिछाने चिनियाँ व्यापारी याङ झाओ युको हस्ताक्षर फरक भएकोबारे आफूलाई थाहा नभएको दाबी गर्छन् । 

लामिछानेको कर्तुत खुल्न थालेपछि चिनियाँ लगानीकर्ता हच्किएका मात्र छैनन्, वैदेशिक रकम ल्याउन नसक्ने पत्र उद्योग विभागलाई पठाइसकेका छन् । कम्पनी र कम्पनीको नामका सम्पत्ति नै एकलौटी बनाएपछि त्यही कम्पनीमार्फत लगानी नगर्ने निष्कर्षमा उनीहरू पुगेर विभागमा पत्र पठाएका हुन् । उनीहरूबीचको विवाद सुरु भएपछि चितवनस्थित लिजमा लिएको जग्गाको भाडा तथा अन्य केही रकमसमेत गरेर करिब ४५ लाख रुपैयाँ पनि चिनियाँ लगानीकर्ताले तिरेका छैनन् ।

चिनियाँ पक्ष कम्पनी र कम्पनीको नाममा खरिद गरेको घर फिर्ता हुनुपर्ने अडानमा छ । लामिछाने चिनियाँसँग संवादमा आएका छैनन्, जसले गर्दा समस्या झन् जटिल बन्दै गएको छ । त्यसो त, लामिछाने चिनियाँ व्यापारीसँग मात्र होइन्, गैरआवासीय संघका पूर्वअध्यक्ष शेष घलेको भाइ नाता लगाउँदै विभिन्न उच्चपदस्थ व्यक्ति र वित्तीय संस्थाबाट रकम उठाउने गरेको भन्दै विवादमा तानिएका छन् ।

लामिछानेले विभिन्न व्यक्तिलाई दिएका करोडौँ रुपैयाँबराबरका सयौँ चेक बाउन्स पनि भइरहेका छन् ।उनीहरूको विवाद बढ्दै गएकाले नेपाल आउने वैदेशिक लगानीबापतको करिब १२ करोड रुपैयाँ तत्काललाई रोकिएको छ ।  अनि, यी दुईको विवादको पटाक्षेप कसरी होला ? रोचक बनेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x