२८ आश्विन २०८३, बुधबार

चीनको रेल भन्दा रसीयाको रेल बलियो आयो प्रस्ताव

एसीपी संवाददाता

३ फाल्गुन २०७७, सोमबार १७:२० मा प्रकाशित

रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो।

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो। रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताएका थिए। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उनले बताए। उनले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी भइसकेको बताउँदै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको उल्लेख गरे।

मन्त्री नेम्वाङले रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताएका थिए। रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी त्यहाँको प्रविधि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुङ्गा हुने प्रतिनिधिमण्डलले बताएका थिए। जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

सो भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको थियो। रुसी महासङ्घको सहयोगमा निर्माण भएका विगतका परियोजना क्रान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेसन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिललगायतका परियोजनाका विषयमा छलफल भएको थियो। -रासस मार्फत नेपाल् लाईभ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x