२५ श्रावण २०८३, सोमबार

छाता संगठनलाई साझा चरित्रको संगठन बनाउन युनियन लागिपरेको छ – सिग्देल

एसीपी संवाददाता

४ चैत्र २०७७, बुधबार ०७:४९ मा प्रकाशित

नेपालगन्ज । नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले सञ्चार सम्बद्ध छाता संगठनलाई साझा चरित्रको संगठन बनाउन युनियन लागिपरेको बताउनुभएको छ । युनियनको नेतृत्वमा सबै संगठनलाई समेटेर साझा चरित्रको जिम्मेवार छाता संगठन बनाउन युनियन प्रतिबद्ध छ ।

सोही दिशामा युनियन अघि बढिरहेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन बाँके शाखाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको स्वागत तथा बधाईका लागि नेपालगन्जमा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले सामुदायिक रेडियोको श्रीबृद्धिका लागि प्रतिबद्ध भएर लाग्न नयाँ कार्यसमितिलाई आग्रह गनुृभयो ।

उहाँले बन्द भएका रेडियोलाई नयाँ जीवन दिनेदेखि कोरोनाका कारण थला परेका रेडियोहरुलाई उकास्न नेतृत्वदायी भूमिका निर्वाह गर्न नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघलाई पनि साझा चरित्रको संगठन बनाउन युनियनले भूमिका खेलिरहेको अध्यक्ष सिग्देलको भनाई छ ।

उहाँले महासंघको आसन्न निर्वाचनका लागि अझैं आधिकारिक रुपमा कसैसंग एलाइन्स नगरिएको बताउँदै फुटेर होइन जुटेर सर्वमान्य साझा चरित्रको संस्था निर्माणमा युनियन अघि बढ्ने बताउनुभयो । यस्तै कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाहले अकारोबको गरिमालाई उँचो बनाउँदै सबल र सक्षम संस्थाका रुपमा विकास गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो ।

बरिष्ठ पत्रकार एवम् नेपाल प्रेस युनियनका सल्लाहकार कबिर राणाले सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले निश्चित खाकाका साथ नयाँ अनुभूति हुने गरी अकोराबलाई अघि बढाउने प्रतिबद्धता जाहेर गनुृभयो । उहाँले सामुदायिक रेडियाहरुलाई समुदायको साझा सम्पत्तिका रुपमा उभ्याउने चुनौती रहेको भन्दै यसका लागि आफूले विशेष पहल गर्ने प्रष्ट्याउनुभयो ।

सामुदायिक रेडियोहरुको हकहितका लागि आफू कटिबद्ध भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गिरी, केन्द्रिय सदस्य हेमन्त विक, लुम्बिनी प्रदेश अध्यक्ष राजु खराललाई नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओलीले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

युनियन बाँके शाखाका अध्यक्ष ओलीको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेस केसी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, साप्ताहिक पाक्षिक पत्रिका संजाल बाँकेकी अध्यक्ष अछरी पोख्रेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गनुृभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x