जसपा पहिचानमा आधारित परिवर्तनकारी शक्ति
यतिवेला जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बन्ने धुनमा छ । हिमाल, पहाड, तराई–मधेस सबैतिरबाट जसपामा प्रवेश जारी छ । विभिन्न वर्ग, समुदाय र मानिसलाई यसले आकर्षित गर्न सकेको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र भुइँमान्छेहरूको आवाज मुखरित गर्ने कार्यभार जसपामाथि थपिएको छ । काँधमा आएको यस नयाँ राजनीतिक कार्यभार जसपाले कति पूरा गर्न सक्छ, त्यसैले जसपाको भावी राजनीतिलाई गति दिने भने निश्चित छ ।
जसपा पहिचानमा आधारित परिवर्तनकारी शक्तिहरूको पार्टी हुन खोजेको देखिन्छ । माओवादी, मधेसवादी, एमाले, कांग्रेस, राप्रपालगायतका राजनीतिक दलभित्र परिवर्तन र पहिचानको स्कुलिङबाट हुर्किएकाहरू नै यसको नेतृत्व तहमा छन्, जसले निरन्तर समाजको पिँधमा रहेका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको हक अधिकारका लागि संघर्ष गर्दै आएका हुन् । मुलुकका कम्युनिस्टदेखि गैर–कम्युनिस्ट सबैको सहभागिता रहेकाले पनि यसको पहिचान अन्य पार्टीको भन्दा फरक छ । पहिचानको राजनीति बोकेका तत्कालीन नेकपा माओवादीका डा. बाबुराम भट्टराई, नेकपा एमालेका महेन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी र माओवादीकै गंगा श्रेष्ठदेखि तत्कालीन राप्रपाका पर्शुराम खापुङ र रेणुकुमारी यादव तथा नेपाली कांग्रेस पृष्ठभूमिका महन्थ ठाकुर र शरदसिंह भण्डारीसमेत जसपामा अँटाएका छन् ।
तत्कालीन सद्भावना पृष्ठभूमिका राजेन्द्र महतो, मधेस आन्दोलनका मसिहा उपेन्द्र यादव, थारू आन्दोलनका अगुवा राजकुमार लेखी र रेशम चौधरी अर्थात् पृथक आन्दोलन र पृष्ठभूमिका नेताहरूलगायत विभिन्न आन्दोलन र आन्दोलनमा महŒवपूर्ण योगदान गरेकाहरू यसमा जुट्न पुगेका छन् । जसपाभित्रको समावेशी नेतृत्व हेर्दा वैकल्पिक शक्ति बन्ने छनक देखिन्छ । यद्यपि, यी बहुपहिचान बोकेका नेताहरू अग्रगामी मुद्दामा कतिन्जेल एक हुन सक्छन्, त्यसैमा यो पार्टीको भविष्य आधारित छ । हिमाल, पहाड, तराई–मधेसको वास्तविक बहुराष्ट्रिय एकता र आवश्यकतालाई दह्रो ढंगले व्यवहारमा जसपाले रूपान्तरण गर्नुपर्छ । यस किसिमको युगबोध जसपालाई हुनुपर्छ ।
अहिलेको राजनीतिक व्यवस्था सेवामुखी नभएर पेसामुखी छ । राजनीतिक दलदेखि सरकारको नेतृत्व गर्ने ठाउँमा हिजोका सामन्त, जमिन्दार र सहरका पुँजीपति दलाल ठेकेदारजस्ता चतुर वर्गको हालीमुहाली छ । उनीहरूले देश र समाजलाई दोहन गर्न र आफ्नो शासकीय पृष्ठभूमिलाई निरन्तरता दिन राजनीतिलाई विलासिताको रूपमा कब्जामा लिएका छन् । जसलाई राजनीतिक सत्ता र अधिकारको खाँचो छ, ती वर्ग, क्षेत्र र समुदाय अहिले पूरै बाहिर पुगेका छन्, वर्षौंदेखि सबैभन्दा बढी राज्यको मौलिक अधिकारबाट वञ्चित छन् । सुकुमबासी र भूमिहीन भएर आफ्नै मुलुकमा शरणार्थीको जस्तो जीवन भोग्न बाध्य छन् ।
सीमान्त वर्गलाई राजनीति गर्ने फुर्सद छैन र हुँदैन पनि । राजनीतिक दल र दलाल पुँजीपति वर्गले राजनीतिलाई यस्तो बनाइदिएका छन् कि अहिलेको संंसदीय व्यवस्थालाई उपयोग गर्न र सरकारमा पुग्न दलहरू स्वयंले अधिकारविमुख वर्गलाई रोज्न छोडेका छन् । समाजको पिँधमा उत्पीडन सहेर बाँच्दै आएका वर्ग, क्षेत्र र समुदाय अहिले सत्ता राजनीतिको एजेन्डाबाट बाहिर परेको छ । उनीहरू त्यो विभेद र अत्याचारका विरुद्ध लडेर माथि कहिले उठ्न सक्नु ? यसलाई तोड्न र परिवर्तन गर्न जरुरी छ ।
ठूला राजनीतिक दल नेकपा र कांग्रेसले जसपालाई अहिले पनि जातीय एवं क्षेत्रीय पार्टीको रूपमा हेरिरहेका छन् । उनीहरू त्यो मानसिकताबाट माथि उठ्न सकिरहेका छैनन् । कांग्रेस र कम्युनिस्ट मुलुकको राजनीतिक दिशा र दृष्टि आफ्नो पकडबाहिर जाओस् भन्ने चाहँदैनन् । त्यसैले पनि उनीहरू परिवर्तनलाई आत्मसात् गर्न सकिरहेका छैनन् ।
उत्पीडित वर्गले राजनीतिका अगुवाहरूको धेरै सेवा गरिसके, अबको लोकतान्त्रिक युगको आवश्यकता सीमान्त समुदायलाई छ । यसर्थ, जसपाले सीमान्तकृत समुदायलाई राजनीतिक नेतृत्वमा मूलप्रवाहीकरण गरेर वैकल्पिक राजनीतिको निब बसाल्नुपर्छ ।
आगामी कार्यभार : मुलुकमा तीन तहको सरकार छ । प्रदेश २ मा जसपाको एकल सरकार छ । संघ र बाँकी ६ प्रदेशमा नेकपाको एकल सरकार छ । नेपाली कांग्रेसलगायत अन्य दल प्रतिपक्षीको भूमिकामा छन् । जसपा तेस्रो शक्तिको रूपमा छ । नेकपाको चाला हेर्दा अगामी निर्वाचनमा पनि कुनै दलको एकल बहुमत आउने छाँट देखिँदैन । मधेसमा कांग्रेससँग जसपाको टक्कर हुनेछ । पहाडमा पनि जसपा तेस्रो शक्तिको रूपमा देखिनेछ । जसपाभित्र व्यक्ति र जातिकेन्द्रित संगठनलाई पार्टीकरण गर्ने सवाल, मपाईंत्वको सवाल र स्थानीय तहमा कमजोर अवस्थामा रहेको संगठनलाई प्रभावकारी विस्तार गर्ने चुनौती छ । अहिलेको जसपा जनमुखीभन्दा व्यक्तिमुखी भयो, संगठन र कार्यकर्तामुखी हुन सकेको छैन । विचार र व्यवहारमा खाडल छ । आफ्नै प्रभाव रहेको ठाउँमा पनि संगठन कमजोर छ । जहाँ नेतृत्व छ, त्यहाँ संगठन छ, जहाँ संगठन र प्रभाव छ, त्यहाँ सही नेतृत्व छैन । कांग्रेस र नेकपाको संगठन राम्रो भएको ठाउँमा जसपाको संगठन मजबुत छैन । आफ्नो प्रभाव रहेको क्षेत्रमा समेत पुराना राजनीतिक दलको जग भत्काउन चुनौती छ । नेता कार्यकर्तासमेत जनतामुखी र गाउँमुखी देखिँदैनन् । यहाँ नेतृत्वकै कारण कार्यकर्ता नेतामुखी, नेता केन्द्रमुखी भए । कतिपय ठाउँमा पार्टी नेतृत्व सरकारमा गएपछि संगठन र कार्यकर्ता बेवारिसे भएका छन् ।
पार्टीमाथि लाग्दै आएको जातीय आरोपलाई निषेध गर्न पनि जरुरी छ । नेकपा र कांग्रेसको विकल्पको राजनीतिक शक्ति जनताले खोजेका होइनन् कि साँचो अर्थमा वैकल्पिक राजनीतिक शक्ति खोजेका छन् । आउँदा दिनमा जसपाले मधेसमा दलित तथा महिलालाई उल्लेखनीय रूपमा निर्वाचित गरेर देखाउनुपर्छ । मधेसले थुप्रै दल र पहाडी नेतृत्वलाई निर्वाचित गराएर सरकारको नेतृत्वमा पठाएको इतिहास छ । अब पहाडबाट मधेसी अनुहारलाई कसरी निर्वाचित गराउने, त्यो इतिहास निर्माण गर्न जरुरी छ । प्रदेश २ मा १८ प्रतिशत दलित छन् । यो जनसंख्या अरू समुदायको भन्दा बहुमत हो । तसर्थ, जसपाले दलित समुदायभित्र संगठन विस्तार गर्न जरुरी छ । यसमा जसपा हिजोदेखि चुक्दै आएको छ । लकडाउनमा दलितमाथि भएको र अहिलेसम्म भइरहेको अत्याचारलाई रोक्न पहल लिन सकेको देखिँदैन । दलितलाई बल दिने भरपर्दो शक्तिको खाँचो छ ।
डा. बाबुराम भट्टराई धुजाधुजा परेका मधेसकेन्द्रित दललाई यसरी जुटाएर नयाँ वैकल्पिक राष्ट्रिय राजनीतिको अभियन्ता बन्लान् भनेर कसैले सोचेको थिएन । युग र समाजले माग गर्यो, उनले आँट गरे । आज जसपा एउटा बिन्दुमा उभिन आइपुगेको छ । अब यसलाई पिँधमा रहेको वर्गलाई अवसर दिएर अगाडि बढाउने आँट गर्नुपर्छ । उत्पीडित वर्गले राजनीतिका अगुवाहरूको धेरै सेवा गरिसके, अबको लोकतान्त्रिक युगको आवश्यकता सीमान्त समुदायलाई छ । यसर्थ, जसपाले सीमान्तकृत समुदायलाई राजनीतिक नेतृत्वमा मूलप्रवाहीकरण गरेर, वैकल्पिक राजनीतिको निब बसाल्नुपर्छ । अनि मात्र वैकल्पिक शक्ति निर्माण गर्न सकिन्छ ।
जसपाले अहिलेको मुलुकको मौलिक विशेषतालाई नयाँ ढंगबाट राष्ट्रिय सूत्रमा उन्न जसरी हरेक वर्ग, जाति र समुदायलाई राजनीतिक शक्ति प्रदान गरिरहेको छ, त्यो जसपाको महत्वपूर्ण जीवन हो । यसले तराई–मधेस, हिमाल, पहाडलाई सूक्ष्म तरिकाले उनेर नयाँ राष्ट्रियताको पहिचान र सामूहिक राष्ट्रिय शक्तिलाई स्थापित गर्न खोजेको देखिन्छ । जसपालाई साँच्चिकै नयाँ र युगसापेक्ष बनाउन युगबोध राजनीति अँगाल्न जरुरी छ । जसपाको मुख्य कार्यभार यही हो । जसपाले आफ्नो पार्टीको विधानमा जनसंख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रप्रमुख र समावेशी पार्टीको सांगठनिक संरचनालगायतको आकर्षक नाराले पिँधमा रहेका वर्गको मन तानिरहेको हो । आफ्नो इतिहास र अधिकारबाट वञ्चित क्षेत्र र समुदायलाई अधिकारसम्पन्न बनाउन र उसको मुक्ति र स्वतन्त्रताका लागि वैकल्पिक राजनीतिको जग निर्माण गरेपछि मुलुकका ठूला भनाउँदा राजनीतिक दलहरू राजनीतिक संकटापन्न हुनेछन् । साभार- नयाँपत्रीकाका लागि राजेश बिद्रोहि


