पुर्ख्यौली पेशा नै संकटमा : ३० हजार माटाका भाँडाकुँडा बनाउँदै चुन्नु कुम्हार
दिनेश ठाकुर, नेपालगन्ज — बाँके
पुर्ख्यौली पेशाप्रतिको लगाव र मेहनतलाई निरन्तरता दिँदै बाँकेको जानकी गाउँपालिका–२ बेलभारका चुन्नु कुम्हार अहिले माटाका भाँडाकुँडा बनाउन व्यस्त छन्। पुस्तौँदेखि गर्दै आएको माटाका भाँडाकुँडा बनाउने पेशालाई आधुनिक समयको चुनौतीबीच पनि उनले छाडेका छैनन्।
इमानदार, मेहनती र सीपयुक्त व्यक्तित्वका रूपमा परिचित चुन्नु कुम्हारका लागि माटाका भाँडाकुँडा बनाउनु केवल पेशा मात्र नभई पुर्खाले हस्तान्तरण गरेको पहिचान र जीविकोपार्जनको आधारसमेत हो। उनका बाजे र बुवाले गर्दै आएको यही पुर्ख्यौली पेशालाई उनले पनि निरन्तरता दिँदै आएका छन्।
“मेरा बाजे र बुवादेखि गर्दै आएको पुर्ख्यौली पेशा मैले छाडेको छैन र छाड्ने पनि छैन,” चुन्नु कुम्हारले भने।
दशैँ, तिहारलगायतका चाडपर्व तथा विभिन्न मेला–पर्व नजिकिँदै जाँदा माटाका भाँडाकुँडाको माग बढ्ने भएकाले उनी अहिले उत्पादनमा जुटेका छन्। हाल आफ्नै निवासमा माटोका पाला, भुड्कीलगायतका भाँडाकुँडा बनाउँदै गरेका चुन्नु यसपटक करिब ३० हजार थान माटाका भाँडाकुँडा तयार गर्ने तयारीमा छन्।
उनको कामप्रतिको लगाव र सीप देख्दा पुर्ख्यौली ज्ञान तथा परम्परागत पेशाप्रतिको समर्पण प्रस्ट देखिन्छ। आधुनिक प्रविधि र बजारको प्रतिस्पर्धाका बीच पनि हातकै सीप प्रयोग गरेर माटाका सामग्री निर्माण गर्दै आएका चुन्नुको मेहनत प्रेरणादायी छ।
तर, पुर्ख्यौली पेशालाई निरन्तरता दिन उनलाई अनेकौँ चुनौती छन्। गुणस्तरीय माटोको अभाव, तयार भएका भाँडाकुँडा सुकाउने र पकाउने उचित स्थानको कमी तथा आधुनिक मेसिनरी तथा औजारको अभावले काममा समस्या भइरहेको उनी बताउँछन्।
“माटोको समस्या छ। बनाएका भाँडाकुँडा सुकाउने र पकाउने ठाउँको पनि समस्या छ। आधुनिक औजार र मेसिनरीको अभावले पनि समस्या भइरहेको छ,” उनले भने।
स्थानीय सरकार, प्रदेश तथा संघीय जनप्रतिनिधिबाट आवश्यक सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ। परम्परागत सीप र पुर्ख्यौली पेशाको संरक्षणका लागि राज्यले आवश्यक सहयोग, प्रविधि, तालिम, कच्चा पदार्थ तथा बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको अपेक्षा छ।
परम्परागत पेशा संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा आफूजस्ता कुम्हार समुदायका सीपयुक्त व्यक्तिहरूको पेशा नै संकटमा पर्न सक्ने चिन्ता चुन्नुलाई छ।
आर्थिक कठिनाइ र विभिन्न समस्याका बाबजुद पनि आफ्नो कर्म र सीपप्रति विश्वास राख्दै निरन्तर काम गरिरहेका चुन्नु कुम्हारको लगावले परम्परागत सीप र संस्कृतिको संरक्षणमा व्यक्तिगत प्रयासको महत्त्वलाई उजागर गरेको छ।
पुर्ख्यौली सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै आएका चुन्नुजस्ता कुम्हारको पेशा संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ठोस योजना बनाएर सहयोग गर्नुपर्ने देखिन्छ। माटाका भाँडाकुँडा केवल घरायसी सामग्री नभई स्थानीय कला, संस्कृति र पुस्तौँदेखिको सीपको पहिचानसमेत भएकाले यसको संरक्षण आवश्यक छ।


