पूर्वमन्त्री महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दा
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दा अघि बढाइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौंस्थित नेपाल प्रहरी साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि थप अनुसन्धान गर्न निर्देशन दिएको हो।
सोमबार (२०८२ असोज ५) जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता उदयचन्द अधिकारीले पठाएको पत्रमा बस्नेतले आफ्नो फेसबुक वालमा प्रयोग गरेको ‘भालु’ शब्दबारे अनुसन्धान गर्न भनिएको छ। पत्रमा उल्लेख छ :
“प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिडिरहेको छ भन्दै अमूर्त ढंगले अमर्यादित ‘भालु’ शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोस्ट गरिएको हो, प्रतिवादीबाट कागज गराई खुलाउन लगाउने।”
शोभा पाठकको जाहेरीका आधारमा अनुसन्धान
यो मुद्दा शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीका आधारमा अघि बढाइएको हो। यसअघि साइबर ब्युरोले जाहेरीमा जोडिएका कागजात निरर्थक भएको भन्दै फाइल तामेलीमा राख्न सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालयले पुनः अनुसन्धान आवश्यक ठहर गर्दै फाइल फिर्ता पठाएको छ।
पत्रमा थप भनिएको छ कि बस्नेतसँग सम्बन्धित “Mahesh Basnet Fanclub” नामको सामाजिक सञ्जाल खाता कसले सञ्चालन गरेको हो भन्नेबारे पनि अनुसन्धान गर्नुपर्नेछ।
कानुनी प्रक्रिया सक्रिय
सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई मुद्दाको सम्पूर्ण कागजात फिर्ता पठाउँदै कानूनी आधारमा अनुसन्धान गरी राय पेश गर्न निर्देशन दिएको छ। यससँगै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत गालीबेइज्जतीसम्बन्धी मुद्दा अघि बढ्ने स्पष्ट भएको छ।
यसअघि पनि बस्नेतको विवादास्पद टिप्पणी र सामाजिक सञ्जाल प्रयोगप्रति आलोचना हुने गरेको थियो। तर यो प्रकरणमा अब औपचारिक रूपमा कानूनी प्रक्रिया अघि बढाइने संकेत देखिएको छ। हिमालपोस्ट



