प्रचण्डको अझै चित्त बुझेन अब फेरि एकतामा जाने
ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुको सुझाव
काठमाडौँ — सर्वोच्च अदालतले तत्कालीन एमालेसँगको एकता बदर गरिदिएपछि माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको छ । मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौपचारिक रुपमा छलफलसमेत भएको छ । तर, के नाम राख्ने र कहिले राख्ने भन्ने औपचारिक निर्णय हुन भने बाँकी रहेको स्थायी कमिटीका एक नेताले बताए ।
उनका अनुसार मंगलबारको बैठकमा अध्यक्ष दाहालले विभिन्न ठाउँबाट नाम परिवर्तनका लागि सुझाव आएको र पार्टीको नाम परिवर्तन हुने बताएका थिए । ती नेताका अनुसार अध्यक्ष दाहालले सुझाव आउनेक्रम जारी रहेकाले नाम परिवर्तनबारे औपचारिक निर्णय पछि लिनेसमेत जानकारी दिएका थिए ।
नेताहरुका अनुसार स्थायी कमिटी बैठकमा ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुले सुझाव दिएका थिए । ‘सबै कम्युनिष्टहरुलाई एकीकृत गराउन मिल्ने गरी नाम राख्दा उपयुक्त हुन्छ भनेर नाम परिवर्तनको विषयमा छलफल भएको हो,’ ती सदस्यले भने ।
सर्वोच्च अदालतले फागुन २३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता बदर हुने गरी फैसला दिएलगत्तै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । त्यससँगै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठन निर्माणको योजना बनाउन पम्फा भुसाल, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुन रहेको चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
माओवादी केन्द्रले यसअघि पनि नाम परिवर्तन गर्दै आएको छ । पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो । त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि दाहालले आफू नेतृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।
तत्कालीन माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले ऋषि कट्टेल नेतृत्व नेकपालाई वैधानिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको छ ।ईकान्तिपुर


