१३ कार्तिक २०८३, बिहीबार

प्रधानमन्त्रीले सेनालाई भने नेपाल-भारत बिच कुनै बिवाद छैन

एसीपी संवाददाता

२६ माघ २०७७, सोमबार १३:१२ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विवादबारे नेपाल र भारतबीच गम्भीर कूटनीतिक प्रयासबाट समाधान खोजिनुपर्ने बताएका छन् ।

यीबाहेक सुस्ता, कञ्चनपुर लगायत सीमा क्षेत्रमा देखिएका विवादको समाधान पनि कूटनीतिक माध्यमबाट खोजिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आईतवार जंगीअड्डामा आयोजित नेपालको ‘अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रहरु’ विषयक गोष्ठी शुभारम्भ गरेपछि सीमा विवाद सल्टाउन कूटनीतिक संवादमा जोड दिएका हुन् ।

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा जारी गर्दा नेपाल–भारतबीच असमझदारी नबढेको बताएका छन् । नक्शामा समेटेर ती भूमि नेपालका हुन् भनेर दाबी प्रस्तुत गरिएको उनले स्पष्ट पारेका छन् ।

‘कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्सामा नसमेट्दा ती भूमि नेपालका हुन् भनेर भारतसँग कसरी दावा गर्न सकिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् ।

भारतसँगको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको उनको भनाइ छ ।

‘छिमेकीसँगको सम्बन्ध सत्यतथ्यका आधारमा, थिचोमिचो नभई समानता र न्यायका आधारमा मात्रै सुदृढ हुन सक्छ,’ उनले भने ।

ओलीले नेपाल–भारत सम्बन्धलाई सुधार्न र वास्तविक सम्बन्ध विकास गर्न कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्शा सार्वजनिक गरिएको बताएका छन् । कूटनीतिक माध्यमबाट कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसकै आधारमा भारतसँग संवाद गर्ने उनको भनाइ रहेको थियो ।

ओलीले सीमा विवादबारे भारतसँग मित्रवत् ढंगले छलफल गर्ने बताए । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे भारतसामु तथ्य प्रमाण राख्ने र मिचिएका भूभाग फिर्ता लिने ओलीले बताए ।

‘हामी भारत र चीनसँग उनीहरूको जमिन हाम्रो हो भनेर दाबी गर्न सक्ने पोजिसनमा छौं र ? भारत र चीनको जमिन हाम्रो हो भनेर दाबी गर्ने हैसियतमा हामी छैनौं,’ ओलीले भने, ‘तर हाम्रो भूमि हाम्रो भन्ने हैसियत चाहिँ हामीसँग हुनुपर्छ । आफ्नो भौगोलिक अखण्डता हामी छाड्न सक्दैनौं ।’

समग्र राष्ट्रको सुरक्षा गर्न सीमा सुरक्षा अपरिहार्य भएको ओलीले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x