१४ कार्तिक २०८३, शुक्रबार

फेरि तत्तिने भयो थारुवानको आन्दोलन

एसीपी संवाददाता

३ पुष २०७७, शुक्रबार २२:०३ मा प्रकाशित

रेशमलाल चौधरीलाई रिहाई नगरेको र जिल्ला अदालतको फैसला उल्टाउदै लक्ष्मण थारुलाई जन्मकैदको सजाय थपेको विरोधमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ। मोर्चाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अदालतको फैसलालाई राजनीतिक पुर्वाग्रहमा आएको फैसलाको आरोप समेत लगाएको छ।

थारु अगुवा रेशम चौधरी र लक्ष्मण चौधरी जन्मकैद


‘उच्च अदालतको फैसला पुर्वाग्रही छ, जिल्ला अदालतले तीन वर्षको सजाय तोकेर रिहा गरेका नेता लक्ष्मण थारुलाई समेत जन्मकैदको सजाय सुनाएको छ, यसको मोर्चा भर्त्सना गर्दछ’ पत्रकार सम्मेलनमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार कृष्णकुमार चौधरीले भने।

उनले यस मुद्धामा आफुहरु सर्वोच्च जाने बताए। ‘टीकापुरको घटना राजनीतिक घटना हो, राजनीतिक घटनामा जन्मकैद हुने भएपछि साविकका काँग्रेस एमाले र माओवादीका नेताहरुलाई पनि हुनुपर्छ’ उनले भने।‘हामीहरु न्यायका लागि सर्वोच्चको ढोका ढक्ढक्याउने छौं।’

उच्च अदालत दिपायलले बिहीबार टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीको जन्मकैदको सजाय कायम राख्दै उनलाई ज्यान मार्ने उद्योगमा थप ५ वर्ष जेल सजाय तोकेको थियो। यस्तै नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय तोकेको थियो।

२०७५ सालको फागुन २२ गते कैलाली जिल्ला अदालतका न्यायाधीस परसुराम भट्टराईको इजलासले रेशमलाल चौधरीलाई जन्मकैदको मात्रै सजाय तोकेको थियो भने लक्ष्मण थारुलाई तीन वर्षको कैद तोकेको थियो। लक्ष्मणसहितका ११ जनाले तीन वर्ष पुर्पक्षमै विताइ सकेकाले उनीहरु जिल्ला अदालतको फैसला आएकै दिन रिहा भएका थिए।

उच्च अदालत दिपायलका न्यायाधीश द्वय टेक नारायण कुवर र सीताराम मण्डललको इजलासले जिल्ला अदालत कैलालीले जन्मकैद तोकेका चार जना सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार चौधरीलाई पाँच/पाँच वर्ष कैद मात्रै फैसला गरेको छ। उच्च अदालतले उनीहरुको कैद कटौती गरेको हो।
तर उच्च अदालतले, जिल्ला अदालतले ३ वर्ष कैद गरेर रिहासमेत भई सकेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्र्रेमलाल चौधरीको फैसला उल्ट्याउदै १० वर्ष कैदको फैसला गरेको छ।

उच्च अदालतले १० वर्ष कैद सजाय पाएका नाबालक श्रवणकुमार चौधरीको हकमा जिल्लाकै फैसला सदर गरेको छ भने जिल्ला अदालतले तीन वर्ष सजाय तोकेका विश्राम चौधरीलाई भने सफाई दिएको छ। ‘हामीहरु माथि अन्याय भयो, अधिकारको आन्दोलनलाई आपराधिक आन्दोलन बनाइयो, अब हामीसँग आन्दोलनको विकल्प छैन’ जनता समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष गया प्रसाद कुस्मीले भने।

टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पिडितहरुले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए। ५८ जना विरुद्ध मुद्धा दर्ता गरिएपनि २४ जना मात्रै पक्राउ परेका थिए। रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।
बिहीबार वादीका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र सिह साउद, सरकारी न्यायाधीवक्ता टेकबहादुर थापासहितका तीन जनाले बहस गरेका थिए भने प्रतिवादी रेशमलाल चौधरी, लक्ष्मण थारु सहितकधा तर्फबाट अधिवक्ताहरु गम्भीरसिह ऐर, गजेन्द्र केसी, नाथुराम महतो, गंगाराम पाध्याय र काठमाण्डौंबाट आएका दुई जना अधिवक्ताले बहस गरेका थिए।अन्नपूर्णपोस्टमा प्रकाशित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x