१२ कार्तिक २०८३, बुधबार

बहुमत सहित सरकार बनाउन ३ दिनको मिति तोकियो

एसीपी संवाददाता

२७ बैशाख २०७८, सोमबार १७:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्माले प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न सोमबार सूचना जारी गरेकी छन् ।

उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने सदस्यलाई ३० वैशाख साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न सूचना जारी गरेकी हुन् ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।प्रधानमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित २३२ मध्ये ९३ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा १२४ मत पर्दा मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले बुहमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x