११ कार्तिक २०८३, मंगलवार

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार , मृतकको परिवारलाई १० लाख भारु राहत

एसीपी संवाददाता

१३ कार्तिक २०७९, आईतवार ०८:०२ मा प्रकाशित

दार्चुला— महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।

विस्फोट गराइएको स्थान दुम्लिङस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीको सीमा सुरक्षा चौकीबाट करिब ४ घण्टा टाढा पर्छ भने छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट करिब १५ किमि तल पर्छ । व्यास र दुम्लिङका सुरक्षा संयन्त्रले बालकको मृत्युबारे केही घण्टापछि मात्रै थाहा पाएका थिए । ‘विस्फोट गर्ने सूचना कतैबाट आएको थिएन,’ पवनका बुबा हिक्मतले भने ।बालकको मृत्युपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पिथौरागढस्थित जिल्लाधिकारी आशिष चौहानलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x