१२ कार्तिक २०८३, बुधबार

भारतीय सहयोगमा नुवाकोटमा चारवटा विद्यालय पुनर्निर्माण

एसीपी संवाददाता

७ चैत्र २०७७, शनिबार ०३:११ मा प्रकाशित

भारतीय सहयोगमा नुवाकोटमा पछिल्लोपटक चारवटा विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्पले भत्किएपछि पुनर्निर्माण भएका विद्यालयको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख नवीन कुमारले उद्घाटन गरेका छन् । भारत सरकारको १६ करोड ७० लाख अनुदान सहयोगमा विद्यालयहरूको निर्माण भएको हो ।

श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत निर्माण गरिएको दूतावासले जनाएको छ । उद्घाटन समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाइ (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एव‌ं सरोकारवाला सहभागी थिए ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी मापदण्डअनुरूप विद्यालयहरू पुनर्निर्माण गरिएको हो । नवनिर्मित विद्यालयमा कक्षाकोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचनाको सुविधा रहेको छ । चार विद्यालयमा १८ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

नेपालमा ०७२ सालमा आएको भूकम्पपछि शिक्षा क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

जसअनुसार ८ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको भारतीय दूताबासले जनाएको छ । ‘उद्घाटन भएका चार विद्यालय पनि यही परियोजना अन्तर्गतका हुन्’ भारतीय दूताबासका प्रवक्ता नवीन कुमारले भनेका छन् । परियोजनागोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौंमा संचालनरत छन् ।

दुताबासका अनुसार हालसम्म आठवटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालय निमार्णाधीन अवस्थामा छन् । कार्यक्रममा भारतीय दूतावासका प्रवक्तासमेत रहेका नवीन कुमारले भने, ‘राष्ट्रको विकासमा योगदान पुर्‍याउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको तीन हजारभन्दा बढी छात्रवृत्तिको लाभ लिन म नेपाली विद्यार्थीलाई प्रोत्साहित गर्न चाहन्छु ।’

भारतीय दूतावासका अनुसार यीबाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ ।अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरू निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरूले लाभग्राहीहरूलाई वर्षायाम आउनुअघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् । उनले अबको केही महिनामै १० देखि १५ वटा विद्यालयको निर्माण सम्पन्न गर्ने अपेक्षा लिएको जानकारी पनि दिए ।विनाशकारी भूकम्पले क्षति पुर्‍याएका नेपालका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा सबलीकरण र एक सय ४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ । पुनर्निर्माण परियोजना यथाशक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावासबीच सहकार्य भइरहेको दूतावासले जनाएको छ । नयाँपत्रिकामार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x