१ श्रावण २०८३, शुक्रबार

भारत छिर्ने लाइनमा टिकिरहन हम्मेहम्मे

एसीपी संवाददाता

६ आश्विन २०७७, मंगलवार ०४:१८ मा प्रकाशित

मध्यान्हको उखरमाउलो गर्मी । मानिसहरुको भीडभाड त्यस्तै । कैलालीको गौरीफन्टा नाकामा लाइनमा लागेकाहरुको चिटचिट पसिना छुटेका छन् ।

लाइनमा थिइन् शारदा आउजी ।  काखमा २ वर्षको बालक बोकेकी उनलाई भारत छिर्ने लाइनमा टिकिरहन हम्मेहम्मे परेको छ । उनले छोरालाई थ्याच्च भुईँमा राखिन्, देब्रे हातले  पसिना पुछिन्, दाहिने हातले भीड रोकिन् ।

उनको जिम्मेवारी २ वर्षका छोरा सुलभ मान होइन, ६ बर्षकी सरिता र ८ बर्षकी सिरिशालाइ पनि सकुशल भारतको दिल्लीसम्म पुर्‍याउनु थियो ।

बाजुराबाट झण्डै २४ घण्टा बसको यात्रा गरेर उनी गौरीफन्टा नाका आइपुगेकी रहिछिन् । दिउँसोको ३ बज्दासम्म उनी भारत प्रवेश गर्नेहरुको लाइनमै थिइन् । लालाबाला बोकेर ३ घण्टासम्म लाइनमा उभिएकी शारदालाई देखेर एक प्रहरीलाई बस्ने ठाउँ दिए । शारदाले राहतको सास फेरिन् ।

कसरी पुर्‍याउनुहुन्छ नानीहरूलाई यति टाढा ?

उनी मलिन भइन्, तर केही बोलिनन् ।

फेरि सोध्यौं, श्रीमान् आउनुभएन ?

शारदा बोलिन्, ‘उहाँ अस्ति गइसक्नुभयो ।

साहुले लगातार ताकेता गरेपछि श्रीमान केहीदिन अघि नै भारत फर्किसकेका रहेछन् । ‘तिमीहरू आउँदै गर्नू है’ भन्दै काखे बालक छोडेर काममा हिँडेका श्रीमानको बाटो पछ्याउँदै शारदा पनि गौरीफन्टा नाका आइपुगेकी रहिछिन् ।

शारदा आफैं बिरामी छिन् । ‘काम नगरे चुलो बल्दैन । चुलो नबले भोकै मरिन्छ । त्यसैले पुरै परिवार भारत जानुपर्छ’ काखमा भएका छोराको मुहार हेर्दै भनिन्, ‘हामीले जुनी भारतमै कटायौं । यिनीहरूको पनि यस्तै हुन्छ कि भन्ने ठुलो पीर छ ।’

शारदाले आफ्नो पीडा सुनिरहेकी राजेश्वरी भावुक बनिन् । ‘हामी सबैको समस्या उस्तै हो’ शारदाको पीडा सुनेपछि राजेश्वरीले भनिन्, ‘अब भोकै मरिन्छ कि भन्ने अवस्था आएर हामी महिलाहरू पनि काम गर्न भारत हिँडेका हौँ ।’

कैलाली गोदावारी नगरपालिका मलाखेतीकी राजेश्वरी नेपाली पनि तीन सन्तानसहित भारत हिँडेकी छन् । उनका पनि श्रीमान  केही दिन पहिले भारत गइसकेका रहेछन् ।

हामीले सोध्यौं, किन सँगै जानुहुन्न त ?

‘साहुले बोलाएकै भोलिपल्ट जानुपर्छ । उहाँ अस्ति जानुभयो । म नानीबाबु लिएर अहिले जाँदैछु’ उनले सँगै जान नपाउनुको कारण खुलाइन् ।

गौरिफन्टा नाकामा भेटिएकाहरुका अनुसार कामदारहरुको सहजताका निम्ति भारतीयहरूले सीमा नाकासम्मै सवारी पठाउँछन् । त्यही सवारी छुट्ने डरले श्रीमती र लालावालासँग छुटिएर पुरुषहरू केही दिन पहिले नै भारत लगिसकेका छन् ।

२५ वर्षदेखि भारतमा मजदुरी गर्दै आएकी राजेश्वरीलाई हरेक पटक नेपाल आएपछि भारत जानु नपरे हुन्थ्यो जस्तो लाग्छ । भन्छिन्, ‘सरकारले हाम्रा लागि केही गरिदिएको भए यहीबाट घर फर्किने थियौँ तर, भारत जानैपर्ने बाध्यता छ ।’

भारत प्रवेश गर्नेहरुको लाइनको पुछारतिर भेटिएका कञ्चनपुर, कृष्णपुरका शेरबहादुर सार्की पनि पसिनाले निथ्रुक्कै भिजेका थिए । उनलाई चाडवाडको मुखमा यसरी भारत जानु नपरे पनि हुन्थ्यो भन्ने लागेको छ । ‘हिजो मात्रै साहुले काम गर्न आ भनेर बोलायो’ भन्छन्, ‘दशैं नजिकिँदैछ, जान मन त छैन । तर, त्यहाँ गएन भने त्यही काम पनि फुत्केला कि भन्ने पिर छ ।’

शेरबहादुर केही महिना पहिले मात्रै नेपाल फर्काएका हुन् । भारतबाट कमाएर ल्याएको पैसा सकिएपछि फेरि पुरानै गन्तव्यमा सोझिएको उनले बताए ।

कैलाली बर्दगोरी बोनियाका रुपाल सार्कीको व्यथा पनि शेरबहादुरको भन्दा फरक छैन । उनका केही छिमेकी दशैं मनाउन हालसालै मात्र भारतबाट घर फर्किएका थिए । उनी भने दशैंको मुखमा भारत छिर्ने पालो कुरिरहेका छन् ।

गौरीफान्टा नाकामा भेटिएका अधिकांशको पीडा एउटै छ, सबैभन्दा ठूलो त्रास भोक नै हो । त्यो दिन नआओस भनेर दशैंतिहार जस्ता चाडपर्व र कोरोनाको त्रास छाडेर भारत लागेका हुन् । हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार पछिल्लो ४ महिनाको अवधिमा २५ हजार बढी नेपाली भारत छिरेका छन् ।

यो क्रम पछिल्ला दिनहरुमा बढ्दो छ । ‘शनिबार पनि करिब ८ सय नेपाली भारत छिरेका छन्’ उनले भने, ‘हिजो आज भारतबाट आउनेभन्दा जानेको संख्या धेरै छ ।’ सभार अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x