१२ कार्तिक २०८३, बुधबार

मानव ओसारपसार तथा बेचबिखन विरुद्धको अभियानमा सहकार्य गर्ने सहमति

एसीपी संवाददाता

१२ फाल्गुन २०७७, बुधबार १८:११ मा प्रकाशित

नेपाल र भारतका संघ संस्थाहरु बीच मानव ओसारपसार तथा बेचबिखन विरुद्धको अभियानमा सहकार्य गर्ने सहमति भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बुधवार नेपालगञ्जमा आयोजित मानवबेचबिखन विरुद्धको अन्तरसीमा अन्तक्रिया तथा समिक्षा बैठकमा सो सहमति भएको हो ।

बैठकमा सहभागि मानवबेचविखन विरुद्ध काम गर्दै आएका दुबै देशका संघसंस्थाका प्रतिनिधि र सरकारी निकायका प्रतिनिधिले समन्वय, सहकार्य र एकता गरेर मात्रै रोकथाम गर्न सकिने ठहर गर्दै सो निणर्यमा पुगेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको सो बैठकमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मानवबेचविखन रोकथामका लागि दुबै देशका संघसंस्था र सरकारी निकायविच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
बेचविखन रोकथाम र बेचविखनमा परेकाहरुका लागि प्रहरीले सहयोग आदान प्रदान गरिरहेको एसपी रानाले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाका प्रमुख शोभा शाहले दुबै देशका सरोकारवालाहरुको सहभागिता रहेको यो बैठक निकै अहम रहेको जनाउँदै सहकार्य र समन्वय भए रोकथाममा ठुलो सहयोग मिल्ने बताउनुभयो ।

यसैगरि कारितास ईण्डियाका कार्यक्रम अधिकृत अनिमास विलियम्सले सीमावर्ति जिल्लाका संघसंस्था बीचको समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनु भयो । भारतकै देहात ईण्डियाका कार्यक्रम संयोजक देवयानी चतुर्वेदीले सहकार्य गरेर रोकथाममा लाग्ने हो भने यो समस्या धेरैहदसम्म समाधान हुने बताउनुभयो ।
सो अवसरमा भारतको तर्फबाट देहात ईण्डियाका अर्का कार्यक्रम संयोजक हसन फिरोज, कार्यकारी प्रमुख जितेन्द्र चतुर्वेदी र डीएसडब्लुएस भारतका कार्यक्रम संयोजक राजेश कुमारले बेचविखन रोक्न विभिन्न सुझाव दिनु भएको थियो ।

यस्तै नेपालका तर्फबाट साथी संस्थाका प्रतिनिधि सरस्वति शर्मा, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्का, जमुनाह ईलाका प्रहरी कार्यालय बाँकेका प्रमुख विष्णु गिरी, शक्ति समुहका निर्मला पौडेल, र महिला सेलका असई श्याम कुमारी मगर लगायतले बेचविखनको वर्तमान अवस्थाबारे जानकारी गराउँदै विभिन्न सुझावहरु दिनु भएको थियो ।

सो बैठकमा क्लबका कार्यक्रम संयोजक बसन्त विसी र शक्ति समुहका निर्मला पौडेलले सहजीकरण गर्नुभएको थियो । बैठकले इन्डो नेपाल मानव बेचविखन विरुद्धको सञ्जाललाई सक्रिय पारेर हरेक महिनामा सो सञ्जालको बैठक गर्ने तथा बैठक गर्दा पालैपालो दुबै देशमा गर्ने निणर्य पनि गरेको छ । सो का लागि शक्ति समुहका निर्मला पौडेल र देहात भारतका देवयानी चतुर्वेदीलाई जिम्मेवारी दिईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x