हामीलाई कसैले बन्दुक देखाए त्यसको जवाफ बन्दुकले दिने
नयाँदिल्ली — भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी दिएका छन् ।
चेन्नईमा आयोजित इन्डिया–टुडे कन्क्लेभमा जयशंकरले ‘चीनले आफूहरूलाई बन्दुक देखाए जवाफमा भारतले पनि बन्दुक नै देखाउने’ बताएका हुन् । इन्डिया–टुडेका पत्रकार राहुल कवलसँगको अन्तर्वार्तामा उनले विश्वशक्तिका रूपमा उदाउँदै गरेको भारतका लागि आगामी दिनहरू चुनौतीपूर्ण रहेको र त्यस्ता चुनौती सामना गर्न वर्तमान राजनीतिक सक्षम रहेको दाबी गरे ।
जयशंकरले एउटा विश्वशक्तिका रूपमा चीनको उदयलाई दोस्रो युद्धपछिकै असाधारण घटना भनेका छन् । उनले चीनको उदयको प्रभाव छिमेकी भएकाले भारत र अन्य छेउछाउका मुलुकमा पर्नु स्वाभाविक रहेको समेत उल्लेख गरेका छन् । ‘विश्व शक्तिको उदयको प्रभाव त्यसको छेउछाउमा परिहाल्छ र हामीले पनि त्यो प्रत्यक्ष अनुभव गरेका छौं,’ जयंशकरले भने । त्यसमाथि भारत र चीनबीच सीमालगायत अन्य मुद्दाहरू पनि रहेका हुँदा बढी प्रभाव देखिनु स्वाभाविक रहेको जयंशकरको भनाइ थियो ।
जयशंकरले भारतका लागि चीनसँगको सम्बन्ध सही दिशामा अगाडि बढाउन चुनौती रहेको समेत संकेत गरे । ‘दुई देशबीचको सम्बन्धमा चीनले गर्ने व्यवहारमा निर्भर गर्छ । यदि उसले हात बढाउँछ भने हामी पनि हात बढाउँछाैं,’ पछिल्लो एक वर्षयता चीनसँगको सम्बन्धमा देखिएको उतारचढावतर्फ संकेत गर्दै उनले भने । गत वैशाखमा उत्तरी लद्दाखको सीमावर्ती गलवान क्षेत्रमा भएको हिंसात्मक झडपका कारण दुवै देशबीचको सम्बन्ध निकै तनाव पूर्ण रहँदै आएको थियो ।
उच्च राजनीतिक र सैन्यस्तरमा भएका वार्तापछि मात्र दुई देशबीचको सम्बन्ध केही सहज बनेको हो । ‘हामीहरू एसियाका दुई पुराना सभ्यता हौं जसले विश्व व्यवस्थामा पुन: आफ्नो स्थान बनाउँदै गएका छौं । त्यसैले हामी सीमामा शान्ति चाहन्छौं,’ जयशंकरले भने । भारत जनसंख्याका हिसाबले विश्वको ठूलोमध्ये एक मुलुक भएको र केही वर्षमै विश्वको दोस्रो वा तेस्रो अर्थतन्त्र बन्न गइरहेको हुँदा उसले चीनसँग सुमधुर सम्बन्ध चाहेको समेत उनको भनाइ थियो ।
त्यही भएर भारतले चीनलाई यदि राम्रो सम्बन्ध चाहने हो भने त्यहीअनुसार व्यवहार हुनुपर्यो भन्दै आएको समेत जयंशकरको भनाइ थियो । ‘हामीले चीनलाई प्रस्ट भनेका छौं यदि तिमी राम्रो सम्बन्ध चाहन्छौं भने हामी पनि त्यही गछौंं र मिलेर सीमामा शान्ति बहाल राख्न आवश्यक उपाय खौजौं । हाम्रो अहिलेको चीन नीति पनि त्यही हो,’ जयशंकरले भने ।
त्यसैगरी विदेशमन्त्री जयशंकरले शुक्रबार सम्पन्न भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीचको क्वाड शिखर वार्ता कुनै पनि मुलुकविरुद्ध नभएको प्रस्ट पारेका छन् । चीनले क्वाडलाई ‘मिनी नेटो’ को आरोप लगाउँदै आएको छ । ‘क्वाड कसैको विरुद्ध नभएर केही गर्नका लागि हो,’ जयशंकरले भने ।


