६ जेष्ठ २०८३, बुधबार

२०७२ सालबाट हराएको ११ नम्बर सीमास्तम्भ अहिले खोजी

एसीपी संवाददाता

७ आश्विन २०७७, बुधबार ०४:१५ मा प्रकाशित

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘बैठकमा कुरा उठ्छ, खोजी गर्ने सहमति पनि हुन्छ । बैठक सकिएपछि भने दुवै पक्षले बिर्सिन्छन्, अनि पिल्लर कहाँबाट भेटियोस् ।’

हुम्ला, सुर्खेत — नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार यस भन्दा आगाडी २०७२ सालको बैठकमा कुरा उठेको तर सरकार पक्षबाट पहल हुदैन् खोजी गर्ने सहमति पनि हुन्छ तर बैठक सकिएपछि भने दुवै पक्षले बिर्सिन्छन्, अनि पिल्लर कहाँबाट भेटिन्छ ।

नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो । टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट आफ्ना प्रतिनिधि आउँदै गरेको जानकारी दिँँदै पीपीई सेट लगाएर बस्न भनेका थिए ।

करिब डेढ घण्टा कुरेपछि चार जना चिनियाँ अधिकारी आएका थिए । ‘उनीहरूले कोरोनाको डर छ, यहाँ कुराकानी नगरौं, बरु बोर्डरलाइन (सीमारेखा) मा बसौंला भनेर माइकिङ गरे,’ उनले भने, ‘त्यसपछि हामी फर्कियौं, कुराकानी भएन ।’ उनका अनुसार चिनियाँ अधिकारीले भवन बनाएको भूभाग चीनकै भएको बताएका थिए ।

ललुङजोङमा चीनले सानाठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।

सीमा अध्ययनका लागि गएको सुरक्षाकर्मीसहितको नेपाली टोली तस्बिर सौजन्य : विष्णुबहादर लामा / ईकान्तिपुरबाट

चीनले संरचना बनाउनुअघि ललुङजोङ क्षेत्रमा बर्खाको समयमा लिमीका बासिन्दाले चौंरी चराउन लाने गर्थे । लिमीदेखि त्यहाँ पुग्न गाडीमै करिब ४ घण्टा लाग्छ । तिब्बततिरबाट पनि चरिचरनका लागि मानिस आउँथे । करिब ४ वर्षअघि चीनले व्यापारिक प्रयोजनका लागि भनेर दुइटा घर बनाएको थियो । अहिले थप ९ वटा बनेका छन् । एउटा सानो घरमा सुरक्षाकर्मी बसेको र बाँकी प्रयोगमा नरहेको अध्यक्ष लामाले बताए । ‘खासमा त्यो ठाउँ दुवैतिरको चरिचरन क्षेत्र थियो, अहिले भवन बनेपछि लिमीका मान्छे (नेपाली) लाई त्यहाँ जान रोक लगाइएको छ,’ उनले भने, ‘हराएको पिल्लर खोजी नगर्दासम्म कुन भूभाग कताको हो भन्न सकिने अवस्था छैन ।’

हिल्सातिर गएको टोली फर्केको छैन । सहायक प्रजिअ दत्तराज हमालले छिटोमा बुधबार साँझसम्म टोली फर्किने बताए । उनले स्तम्भ हराएको र ललुङजोङमा चीनले घर बनाएको गुनासो आएपछि टोली त्यसतर्फ गएको बताए । ‘कति स्तम्भ कहाँ–कहाँ छन् भन्नेबारे टोली फर्किएपछि थाहा हुन्छ,’ उनले भने ।

नेपाल–चीन सीमाअन्तर्गत हुम्ला क्षेत्रमा मात्र १२ स्तम्भ छन् । तीमध्ये ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपाली अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने हुम्ला जिल्लाको सीमारेखामा १० वटा मात्र स्तम्भ छन् ।

पहिलो पटक ०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेन्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर स्तम्भ खोजी गर्ने निर्णय भएको थियो । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘बैठकमा कुरा उठ्छ, खोजी गर्ने सहमति पनि हुन्छ । बैठक सकिएपछि भने दुवै पक्षले बिर्सिन्छन्, अनि पिल्लर कहाँबाट भेटियोस् ।’ ईकान्तिपुरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x